काठमाडौँ, ११ साउन -व्यवस्थापिका संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले)ले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने भएको छ । प्रतिपक्षमा भए पनि संविधान कार्यान्वयन, पुनःनिर्माण, राष्ट्रिय स्वाभिमान तथा आर्थिक समृद्धिका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गर्ने रणनीति एमालेले बनाएको छ ।
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नौ महिनामै विघटन भएपछि अब बन्ने सरकारमा एमाले सहभागी नहुने र संसद्मा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने तयारी गरेको हो । अब बन्ने सरकारको भूमिका र आचरण व्यवहारअनुसार पार्टीको भावी भूमिका तय हुने एमाले नेताहरूले बताउनुभएको छ । “सरकारबाहिर रहेर रचनात्मक भूमिका निर्वाह गर्छौं,” पार्टी सचिव प्रदीप ज्ञवालीले बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।
प्रधानमन्त्री पदबाट राजीनामा दिनुभए पनि सामाजिक सञ्जालदेखि सर्वसाधारणसम्मले अध्यक्ष ओलीको प्रशंसा गरेका छन्, प्रधानमन्त्री ओलीप्रति जनताको सहानुभूतिले पार्टीको उचाइलाई अझ बढाएको सचिव ज्ञवालीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमाले प्रतिपक्षमा बस्छ, प्रतिपक्षमा बसे पनि हामी देश र जनताको पक्षमा नियमित काम गर्छौं । ” सरकारको कार्यशैली र व्यवहारमा पार्टीको भूमिका निर्भर रहन्छ, उहाँले भन्नुभयो ।
एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै आधार नभएकाले पार्टी प्रतिपक्षमा बस्ने बताउनुभयो ।
“एमालेबिना सहमतीय सरकार सम्भव छैन, हामी सरकारमा कुनै हालतमा जाँदैनौँ,” सचिव भट्टराईले भन्नुभयो । प्रतिपक्षमा हामीले सशक्त भूमिका निर्वाह गर्छौं, सरकारबाहिर रहेर निरन्तर देश र जनताको पक्षमा खबरदारी गर्छौं, उहाँले भन्नुभयो ।
विकासनिर्माण, संविधान कार्यान्वयन र राष्ट्रिय स्वाभिमानका एजेन्डामा कसैसँग कुनै सम्झौता नगर्ने प्रधानमन्त्री ओलीले संसद्को सम्बोधनमा बताउनुभएको थियो । उहाँले आफू नेतृत्वको सरकारले अगाडि बढाएको देश र जनताको पक्षमा रहेका एजेन्डालाई अगाडि बढाउन नयाँ बन्ने सरकारलाई आग्रहसमेत गर्नुभएको थियो ।
एमाले प्रतिपक्ष भूमिकामा रहे पनि प्रधानमन्त्रीका रूपमा ओलीले सुरु गरेका कार्यक्रम तथा योजनालाई जोडदार ढङ्गले उठाउने केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
“हाम्रै नेतृत्वदायी भूमिकाले नयाँ संविधान जारी भएको हो, सरकार बाहिर बसेर पनि त्यसको कार्यान्वयनमा एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्छ,” नेता श्रेष्ठले भन्नुभयो । देशको आर्थिक समृद्धि तथा स्वाभिमानको पक्षमा एमाले अडिग रहनेसमेत उहाँले स्पष्ट पार्नुभयो ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि नयाँ सरकारलाई एमालेले खबरदारी गर्नेसमेत उहाँले बताउनुभयो । “नीति तथा कार्यक्रम र बजेट अनुसार काम नभएमा पार्टीले सडकदेखि सदनसम्म सशक्त भूमिका निर्वाह गर्छ,” उहाँले भन्नुभयो ।
प्रकाशित मिति: ११ श्रावण २०७३, मंगलवार ०७:१५