जाजरकोट, ९ साउन ।
सरकारले गठन गरेको स्थानीय निकाय पुनर्संरचना आयोगले जाजरकोटमा ५ वटा स्थानीय निकाय हुने भनेर गरेको निर्णय अन्यायपूर्ण भएको भन्दै जिल्लावासीले विरोध जनाएका छन् । कर्णालीसँगै जोडिएको जाजरकोटमा जनसंख्या बढी भएको र भुगोल पनि विकट भएको जिल्लामा ५ मात्र स्थानीय निकाय हुने तर जुम्ला र डोल्पामा क्रमश ७ र ६ गरिनु न्योचित नभएको स्थानीयको भनाइ छ ।
पञ्चायत काल देखि नै गाउँ विकास समिति विभाजन गर्दा ठगिएका जाजरकोटबासी गणतन्त्रसम्म आइपुग्दा पनि अहिलेको पुनर्संरचनाले फेरि ठगिन पुगेको नेपाली कांग्रेसका उपसभापति सर्पराज रावतले बताए । उनले जाजरकोटलाइ ५ वटा मात्र स्थानीय निकाय विभाजित गर्नुु भौगोलिक हिसाबले न्यायोचित नभएको भन्दै उक्त निर्णय सच्याउन माग गरेका छन् ।
जिल्लाको भूगोल र जनसंख्यालाई न्याय हुने गरी कम्तीमा ६ स्थानीय निकाय बनाउन माग गरिएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । ६ नम्बर प्रदेशमा स्थानीय तहको संख्या निर्धारण गर्ने सन्दर्भमा तोकेको स्थानीय निकाय संख्या र मापदण्ड सम्बन्धी निर्णयले जाजरकोटबासीको भविश्य माथी गम्भीर कुठाराघात गरेकोले गाउँपालिकाको संख्या बढाउन माग गरिएको उनले बताए ।
जिल्ला विकास समितिले आयोजना गरेको स्थानीय निकायको पुनर्संरचना सम्बन्धी कार्यक्रममा राजनैतिक दल, नागरिक समाज, पत्रकार, गैरसरकारी संस्था महासंघ लगायतका नागरिक संगठनहरुको आयोगको सिफारिस सच्याउनुपर्ने माग गरेको हो ।
‘जाजरकोट जिल्ला भन्दा भूगोल र जनसंख्याका आधारमा सानो जिल्ला जुम्लामा ७ र आधा जति जनसंख्या रहेको डोल्पामा ६ स्थानीय निकाय बनाउने र जाजरकोटमा ५ मात्र स्थानीय निकाय बनाउने तयारी गरिएको निर्णयले विगतमा हामी माथि भएको अन्यायले निरन्तरता पाउने छ,’ नेकपा एमालेका जिल्ला अध्यक्ष करवीर शाहीले भने ।
स्थानीय प्राविधिक समितिका संयोजक स्थानीय विकास अधिकारी इन्द्र गौतमले जिल्लामा कूल ५ वटा गाउँपालिका रहने र एउटा नगरपालिका पनि यसैभित्र पर्ने बताए ।
नागरिक अगुवा केशवजंग शाहले जाजरकोटको जनसख्या र भौगोलिक अवस्थाले ५ वटा गाउँपालिका निकै अन्यायपूर्ण हुने र जनताले सेवाभन्दा बढी सास्ती पाउने सम्भावना रहेको बताए ।
अहिले जिल्लाको जनसंख्या एक लाख ७१ हजार छ भने २२ सय वर्ग किलोमिटर छ । त्यस्तै जाजरकोटमा अहिले १ नगरपालिका २६ गाविस रहेका छन् । सीमांकनको निर्णय नसच्चिए कडा आन्दोलन गर्ने राजनैतिक दल र नागरिक संगठनहरुले बताएका छन् ।
प्रकाशित मिति: ९ श्रावण २०७३, आईतवार १२:५५