नगर क्षेत्रमा खच्चड, गधा, गाई, साँढे, सुँगुर, कुकुर दिनानुदिन बढ्ने क्रम जारी रहे पनि त्यसको नियन्त्रणको प्रयास नगरपालिकाका पदाधिकारीले नगरेपछि नगरवासीको सुरक्षा चुनौती बढ्दै गएको छ ।
यस सम्बन्धमा नगरपालिकाका पदाधिकारीसँग जिज्ञासा राख्दा कुनै ठोस र तार्किक जवाफ दिएको पाइँदैन । “हामीले पशु धनीहरुलाई चौपाया छाडा नछाड्न आग्रह गरेका छौँ” – नगरका कार्यकारी प्रमुख हेमराज भुसालको छोटो जवाफ हुने गरेको छ ।
नगरका प्रायः सबै टोल, मुख्य बजारमा बग्रेल्ती छाडा चौपायाका कारण पैदल यात्रु मात्र नभई सवारी साधनसमेत दुर्घटनाको जोखिम मोल्न बाध्य भएका छन् ।
छाडा चौपायाकै कारण नगरको सुर्खेतरोडस्थित धम्बोझी चोक, पुष्पलाल चोक, बिपी चोक, चारबाहिनी, भेरी अञ्चल अस्पतालरोड, त्रिवेणी मोड, न्युरोड, बसपार्क क्षेत्र बढी जोखिममा पर्दै गएको छ ।
नगरपालिकाले छाडा चौपायालाई व्यवस्थित गर्न नसक्दा यहाँ ट्राफिक नियन्त्रणसमेत प्रभावित भएको छ । “ट्राफिक प्रहरीले सवारी साधन नियन्त्रण गर्नुको सटटा पशु धपाउँदै हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ” – जिल्ला प्रहरी कार्यालयका टेकप्रसाद राईको गुनासो छ ।
नगर प्रमुख भुसालले आजको एक हप्तासम्म सम्बन्धित पशु मालिकहरुलाई आफ्ना पशु व्यवस्थित गर्न आग्रह गरिएको, त्यसो नगरिए पशु चौपायालाई जङ्गलतिर लगेर छाडिने बताए ।
रासस