काठमाडौँ, ८ साउन । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७३/७४ का लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई करिव ८४ अर्ब रुपैयाँ बराबरको अख्तियारी दिएको छ ।
उक्त रकम मध्ये १२ अर्ब २८ करोड ९६ लाख २८ हजार रुपैयाँ नेपाल सरकारको स्रोतबाट व्यहोरिनेछ । वैदेशिक सहायतातर्फ नगद अनुदानतर्फ जाइकाबाट १ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ, युरोपियन युनियनबाट ११ अर्ब रुपैयाँ, चीनबाट ५० करोड रुपैयाँ, पुनर्निर्माण संयुक्त कोषबाट १ अर्ब ५० करोड रुपैयाँ, भारतबाट १२ अर्ब ५० करोड रुपैयाँ रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाद्धारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै जर्मनी केएफडब्लुबाट ३ अर्ब रुपैयाँ, कोरियाबाट ८५ करोड रुपैयाँ, एसियाली विकास बैंकबाट ९८ करोड रुपैयाँ रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता थपलियाले जारी गरेको विज्ञप्ति जनाइएको छ ।
ऋणतर्फ आइडिएबाट १३ अर्ब २५ करोड ८७ लाख ७७ हजार रुपैयाँ, एसियाली विकास बैंकबाट ९ अर्ब ५५ करोड ५२ लाख ७६ हजार रुपैयाँ, यस्तै जाइकाबाट ११ अर्ब ६६ करोड ५३ लाख ५८ हजार रुपैयाँ र आइएमएफबाट ५ अर्ब रुपैयाँ स्रोत उपलब्ध हुनेछ । सरकारले बजेट वक्तव्यमा चालू आर्थिक वर्षका लाग १ खर्ब ४२ अर्ब रुपैयाँ व्यवस्था गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता थपलियाले जनाएका छन् ।
गत वर्ष अर्थ मन्त्रालयबाट ४ वटा खर्च शिर्षकमा रकम विनियोजन भएको हुँदा स्रोतान्तर रकमान्तर लगायतको प्रकृयामा बढी समय लागेको थियो । यस पटक १३ वटा खर्च शिर्षकमा रकम विनियोजन भएकाले सम्बन्धित निकायमा रकम विनियोजन गर्न सहज हुने प्राधिकरणको विश्वास छ ।
विपद्पछिको आवश्यता आंकलन प्रतिवेदन (पिडिएनए) र पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी पञ्च वर्षीय योजनाको खाका (पिडिआरएफ)मा उल्लेख भएका क्रियाकलापहरुलाई विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्टि गराएको आधारमा सम्बन्धित निकायहरुबाट कार्यक्रमहरु प्राप्त गरी प्राधिकरणको कार्यकारी समितिले नीतिगत निर्णय गरेका आधारमा बजेट निकास गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता थपलियाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: ८ श्रावण २०७३, शनिबार १८:१४