जाजरकोट, ८ साउन ।
जाजरकोटमा ग्रामीण खानेपानी तथा सरसफाई सम्बन्धी नयाँ परियोजना शुरु भएको छ । ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फनवोर्ड) काठमाडौँको आर्थिक सहयोगमा जाजरकोटका ९ वटा गाउँ विकास समितिमा यो परियोजना लागु भएको हो ।
पाँचतारा यूवा संरक्षक मञ्च, जाजरकोट, ग्रामीण विकास सेवा केन्द्र, वैतडी र रुडेक नेपालको सहजीकरणमा जिल्लामा २० वटा खानेपानी तथा सरसफाइ सुधार परियोजना सञ्चालन भएका छन् ।
जिल्लाका कोर्ताङ्ग, गर्खाकोट र दहमा ग्रामीण सेवा केन्द्र वैतडीले सहजीकरण गर्नेछ । त्यस्तै साल्मा, थालारैकर र टालेगाउँमा ग्रामीण विकास केन्द्र (रुडेक) नेपालले सहजीकरण गर्ने छ भने लहँ, रग्दा, र भगवती गाविसमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले सहजीकरण गर्ने सम्झौता गरिएको छ ।
पहिलो चरणमा दुई बर्षे कार्यक्रम सञ्चालनका लागि करिव ८ करोड भन्दा बढी लगानी गरिने भएको छ । योजनाहरुको सञ्चालन एवं व्यवस्थापन स्वयम् उपभोक्ता समितिहरुले गर्ने साझेदार संस्था पाँचतारा यूवा संरक्षक मञ्च, कार्यकारी निर्देशक रामजंग शाहले बताए ।
कार्यक्रम अन्तर्गत प्रत्येक गाविसमा खानेपानीका धारा निर्माणका साथै पूर्ण सरसफाईका क्रियाकलापहरु समेत सञ्चालन हुने कार्यकारी निर्देशक शाहले जानकारी दिए । खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, जिविस र गाविससँग सहकार्य गरेर ती गाविसलाई पूर्ण सरसफाई युक्त गाविस समेत घोषणा गर्ने कार्यक्रम रहेको रुडेक नेपालका कार्यक्रम अधिकृत नरबहादुर साउदले बताए ।
प्रकाशित मिति: ८ श्रावण २०७३, शनिबार १७:३९