काठमाडौं, ८ साउन- १३ दिनदेखि अनशनरत त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. गोविन्द केसीको अनशन तोडाउन भएको सरकारी टोली र केसीका प्रतिनिधिबीचको वार्ता सहमतिमा पुग्न सकेन । सरकारले संसद्मा प्रस्तुत गरेको विधेयकमा प्रस्तावित मनमोहन प्रतिष्ठानलाई सरकारले किन्ने, अन्य कुनै प्रतिष्ठानअन्तर्गत चलाउने या छुट्टै प्रतिष्ठान बनाउने भन्ने विषय उल्लेख छ । त्यसमा केसीको आपत्ति जारी छ ।
समाधान निकाल्न शुक्रबार दुईपटक वार्ता भएको थियो । दिउँसो पााच घन्टा बसेको औपचारिक वार्ता निष्कर्षमा पुग्न नसकेपछि राति अनौपचारिक छलफल गरिएको थियो । सो छलफलमा पनि निचोड निस्कन सकेन । सरकारी वार्ता टोलीका संयोजक स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीले सरकार केसीका माग पूरा गर्न प्रयत्नशील रहेको बताए । उनले निष्कर्षमा पुग्न अझै छलफल आवश्यक रहेको भन्दै मुख्यत: केसी पक्षका वार्ताकारले डा. केसीसँग छलफल गर्नुपर्ने भएकाले अर्को दिन बस्ने गरी वार्ता टुंग्याइएको बताए ।
डा. केसीको वार्ता टोलीका सदस्य सुमन अर्यालका अनुसार सरकारी वार्ता टोलीले राजनीतिक समिति बनाई समस्या समाधान गर्ने प्रस्ताव राखेको छ । तर, समिति बनाएर मात्र अनशन अन्त्य गर्नुको औचित्य नहुने भन्दै शुक्रबारको वार्ता स्थगित गरिएको हो । स्रोतका अनुसार संसद्मा विचाराधीन मनमोहन मेडिकल प्रतिष्ठानसम्बन्धी विधेयकको विषयमा कुरा नमिलेपछि वार्ता असफल भएको हो । संसद्मा रहेको प्रतिष्ठानसम्बन्धी विधेयकमा प्रस्तावित प्रतिष्ठानलाई सरकारले किन्ने र अन्य कुनै प्रतिष्ठानअन्तर्गत चलाउने या छुट्टै प्रतिष्ठान बनाउने भन्ने विषय उल्लेख छ । त्यसमा केसीले आपत्ति जनाउँदै आएका छन् ।
सरकारी वार्ता टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विषय संसद्को क्षेत्राधिकारको विषय भएकाले त्यसमा प्रवेश गर्न नसकिने स्पष्ट पारेको थियो । शुक्रबार त्यस विषयमा छलफल नै हुन सकेन । अख्तियारसँग जोडिएकाबाहेक डा. केसीले उठाएका तीनवटा मागमा छलफल भएका थिए । दुईवटा मागमा सरकार सकारात्मक भए पनि मनमोहन प्रतिष्ठानको विधेयक फिर्ता गर्ने विषयमा कुरा नमिलेको हो ।
वार्ता टोलीका एक सदस्यका अनुसार दिउँसो बसेको औपचारिक वार्तामा सरकारी वार्ता टोलीले मनमोहन प्रतिष्ठानलाई सहकारीबाट छुटाएर छुट्टै सरकारी प्रतिष्ठान बनाउने प्रस्ताव राखेको थियो । केसीले मनमोहन प्रतिष्ठानको विधेयक संसद्बाट फिर्ता हुनुपर्ने अडान राखेका छन् । सरकारी टोलीको प्रस्ताव सुनाउन डा. केसीलाई भेट्न गएका उनका सहयोगीसँग केसीले उपत्यकामा कुनै पनि मेडिकल कलेज या प्रतिष्ठान खोल्नै नहुने अडान दोहोर्याएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति: ८ श्रावण २०७३, शनिबार ०६:३८