काठमाडौ, ८ साउन– प्रहरीले यही वर्षदेखि ड्रोन पुलिसिङको तयारी गरेको छ । ट्राफिक व्यवस्थापन तथा आन्दोलनको अवस्था नियाल्न ड्रोन (युएभी क्यामरा) प्रयोग गर्न लागेको छ । ‘ड्रोन चलाउन चारजनालाई तालिम दिइसकेका छौा, अब खरिदको तयारीमा छौ,’ डिआइजी राजीव सुब्बाले भने । प्राकृतिक प्रकोपमा प्रभावकारी हुने विश्लेषणका आधारमा ड्रोन क्यामरा प्रहरीले प्रयोग गर्न लागेको हो ।
गत वर्षको भूकम्पमा धेरै विदेशीले ड्रोन क्यामराको सहयोगमा उद्धार तथा बाटो खुलाउने काम गरेका थिए । गुगल म्यापबाट पुलिसिङ उपत्यकाका तीन जिल्ला, मोरङ, कास्की र सिन्धुपाल्चोकमा कार्यलयमै बसेर कुन प्रहरी कुन स्थानमा छन् भन्ने थाहा पाउन सकिन्छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
कुनै लोकेसन पत्ता लगाउन गाह्रो भएमा पनि कन्ट्रोल रुमबाट निर्देशन दिन सकिन्छ । यसले घटनास्थलमा छिटो पुग्न प्रहरीलाई सहज हुन्छ । प्रहरीको कुन गाडी कहाँ छ, कुन प्रहरी कहाँ छन् भनेर कार्यालयमै बसेर हेर्न सकिन्छ । डिजिटल ट्रयाकिङ सिस्टम लागू गरी प्रहरीले आफूलाई आधुनिक बनाएको हो ।
ट्रयाकिङ सिस्टमअन्तर्गत सञ्चार सेटबाटै म्यासेजसमेत गर्न सकिन्छ भने गु्रपमा कुरा गर्न मिल्छ । मोबाइलमा जस्तै सेटमै दुईजनाबीच मात्र पनि कुरा गर्न सकिन्छ ।
यो प्रविधिलाई ७५ जिल्लामै पुर्याउने तयारी भइरहेको छ । भिडियो लाइभ गर्ने वकीटकी थोत्रा प्रहरी सेटबाट धेरै जिल्लामा प्रहरी हैरान छन् । तर, हालै प्रहरीले यस्तो सञ्चार सेट भित्र्याएको छ जसबाट कार्यालयबाटै लाइभ भिडियो हेर्न सकिन्छ । यसलाई प्रयोगमा ल्याउने अन्तिम तयारी भइरहेको प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख डिआइजी डा. राजीव सुब्बाले बताए । प्रहरीले करिब ६ करोड रुपैयाँको लागतमा र्यापिड कम्युनिकेशन सिष्टम भित्राएको हो ।
आन्दोलन, मेला, भिआईपी आवाज–जावतमा यो प्रविधि प्रभावकारी हुने डिआईजी सुब्बाले बताए । यस्तो सेट जुनसुकै स्थानमा पनि गाडिमार्फत बोकेर हिड्न सकिने र १५ मिनेटभित्रै स्टल गर्न सकिने उनको भनाइ छ । ‘यसले सिसिटिभीको काम पनि गर्छ, मोबाइलको काम पनि गर्छ,’ डिआईजी सुब्बा भन्छन्, ‘यसबाट रियल टाइम सिचुयसनको बिश्लेषण गरी काम गर्न प्रहरीलाई सहज हुन्छ ।’ त्यस्ता ५० वटा सेट हालै प्रहरीले खरिद गरेको हो ।
एकैपटक १६ वटा सेटमार्फत लाइभ भिडियो प्रहरी कार्यालयमा पुर्याउन सकिन्छ । आठ सय लाइनमा नि:शुल्क फोन प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय र राष्ट्रिय प्रहरी तालिम प्रतिष्ठानमा एक–अर्काे कार्यालयबाट फोन गर्नुपर्दा कुनै शुल्क लाग्दैन । तीन कार्यालयमा टेलिफोनको आफ्नै इन्टरकम सुविधा प्रहरीले विस्तार गरेको छ । मंगलबार मात्र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले यसको उद्घाटन गरेका छन् ।
प्रहरीका आठ सय फोन इन्टरकमको नेटवर्कमा जोडिएका छन् । त्यसलाई देशभरी विस्तार गर्ने तयारी प्रहरी मुख्यालयको छ । डिजिटल एचआर रेडियो बिश्वमा ४/५ वर्षअघि मात्र सुरु भएको डिजिटल हाई फ्रिक्वेन्सी रेडियो सेवा पनि नेपाल प्रहरीले भित्र्याउने तयारी गरेको छ । यसबाट इन्टरनेशन नपुगेको स्थानबाट पनि प्रहरीले यसको सहयोगमा इन्टरनेट सुविधा प्रयोग गर्न सक्छन् । यो वर्ष ५ क्षेत्रका लागि एक/एक वटा यस्तो रेडियो खरिदको प्रक्रिया अघि बढिसकेको छ । यसबाट इन्टरनेट सेवा नपुगेका दुर्गम जिल्लाका प्रहरी लाभान्वित हुनेछन् ।
प्रकाशित मिति: ८ श्रावण २०७३, शनिबार ०६:३५