तनहुँ, ७ साउन । बोलपत्र आह्वान दर्ता गर्न गएका एक व्यक्तिमाथि खुकरी प्रहार गर्ने नौजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ ।
आह्वान दर्ता गराउन बिहीबार जिल्ला विकास समिति कार्यालमा गएका व्यासनगरपालिका–५ बस्ने वर्ष २७ का विष्णुबहादुर रानामाथि आयुष बरालको टोलीले खुकुरी प्रहार गरेर रानालाई घाइते बनाएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।
उक्त घटनामा संलग्न सबै व्यक्तिविरुद्ध मुद्दा दायर गरेर थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकृत सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
जिल्ला विकास समिति तनहुँले आव २०७३/७४ को आन्तरिक आयको ठेक्का सिलबन्दी बोलपत्र आब्हान गत असार १० गतेबाट जारी गरेको थियो ।
प्रहरीले घटनास्थलबाट खुकुरी, चक्कुसमेत बरामद गरेको थियो । खुकुरी प्रहार गर्ने युवकहरुले बोलपत्र दर्ताको लागि पेस गर्न लागिएको आवश्यक कागजपत्र समेत लुटेका थिए ।
जिविस तनहुँले जिविसको क्षेत्राधिकारभित्र पर्ने तीनवटै क्षेत्रअन्तर्गतका घाटमा पर्ने सेती नदी घाट, हलेदीघाट, तालबैँ सीघाट, साखरबेनीघाट, नारीघाट, मार्कीचोकघाट, मादीसेती काहुँशिवपुरघाटलगायतका २० वटा घाटमा आन्तरिक खरिद बिक्रीका लागि ढुङ्गा, गिट्टी र बालुवाका लागि बोलपत्र आव्हान गरेको थियो ।
उक्त जिविसले जिल्लाको विभिन्न घाटको गरी रु तीन करोड ५० लाखको न्यूनतम बोलपत्र आव्हान गरेको छ । रासस