जाजरकोट, ६ साउन ।
जिल्ला शिक्षा कार्यालय जाजरकोटले भौतिक पूर्वाधार तर्फको करिब साढे सात करोड रुपैयाँ काम सम्पन्न नगरेरै विद्यालयको खातामा निकासा गरेको खुलासा भएको छ । विद्यालयको खातामा निकासा गरेपनि रकम भुक्तानी नदिएर खाता रोक्का गरेको पाइएको छ ।
भानुभक्त उच्च मावि लहँको निर्माणाधीन ८ कोठे भवन । उक्त विद्यालयको खातामा १८ लाख रुपैयाँ निकासा भैसकेका छ तर काम भने भर्खर पिलर मात्र ठड्याइको छ । तस्बिरः राजेन्द्र कार्की
भौतिक पूर्वाधारको कार्यक्रम परेका ९० मध्ये ५५ विद्यालयले असार मसान्तसम्म काम नसेकपछि बजेट फ्रिज नगराउन यस्तो कदम चालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यालय भवन अन्तर्गत ८ कोठे ४, ६ कोठे ४, ४ कोठे ७ा, ३ कोठे १५ र २ वटा ९ कोठे भवन विद्यालयले आर्थिक वर्ष ०७२/७३ भित्रै सक्नु पर्ने काम सकेका छैनन् । तर ती सवै विद्यालयको खातामा रकम निकासा गरिएको कार्यालय स्रोतले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार क्रमागत ४ कोठे भवनका लागि ३२ लाख मध्ये पहिलो बर्ष १८ लाखका दरले ४ ओटा विद्यालयलाई १ करोड २६ लाख रुपैयाँ खातामा भुक्तानी गरिएको छ ।
त्यस्तै ६ कोठे विद्यालय भवनका लागि ४८ लाख रुपैयाँ मध्ये पहिलो बर्ष १८ लाखका दरले ३ विद्यालयको खातामा ५४ लाख र ८ कोठे भवनका लागी कुल ६० लाख छुट्याइएकोमा पहिलो बर्ष १८ लाखका दरले ४ ओटा विद्यालयमा ७२ निकासा भएको हो । यी क्रमागत सवै भवनका लागी शुरुमा ५० प्रतिशत पेश्की दिइएको र उक्त पेश्की फछ्यौट नहुँदै थप ५० प्रतिशत भुक्तानी दिइको हो ।
त्यस्तै २ कोठे र ३ कोठे भवन असार मसान्तमै सक्नु पर्नेमा अधिकांशले काम सकेका छैनन् । तर दुई कोठे भवनका लागि पुरै साढे तेह्र लाखका दरले ९ ओटा विद्यालयलाई १ करोड २१ लख ५० हजार र तीन कोठेका लागि साढे उन्नाइस लाखका दरले १५ ओटा विद्यालयको खातामा २ करोड ९२ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको पाइएको छ ।
त्यस्तै बाह्यवातावरण शिर्षक अन्तर्गत ४ लाख रुपैयाँका कामै नगरेका १५ विद्यालयलाई ६० लाख रुपैयाँ निकासा गरिएको छ । त्यस्तै छात्रा शौचालयको लागि २ ओटा विद्यालयलाई ८ लाख रुपैया निकासा गरिएको छ तर उक्त विद्यालयहरुले अझै काम सम्पन्न गरेका छैनन् ।
यी सवै कामका लागि जिल्लाका ५५ विद्यालयको खातामा ७ करोड ३४ लाख रुपैयाँ निकासा गरेर बैक खाता रोक्का गरेर राखिएको छ । जिल्ला शिक्षाले ती विद्यालयको खाता रोक्का गरिदिन भन्दै नेपाल बैक लिमिटेडमा पत्र पठाएको जनाएकोे छ ।
६ महिना अघि नै विद्यालय भवन लगायतका भौतिक पूर्वाधार निर्माणको लागि कार्यालयसँग सम्झौता गरिएको भएपनि विद्यालयको उदासिनता र लापरवाहीले समयमा काम सम्पन्न हुन नसकेको स्थानीयको भनाई छ ।
विद्यालयमा हुने राजनीतिक खिचातानी, विद्यालय ब्यवस्थापन समिति भित्रको विवादका कारण निर्माण समिति गठनमा ढिलाई आदि कारणले थप समस्या देखिने गरेको जिल्ला स्तरीय शैक्षिक सुधार सञ्जालका सदस्य राजेन्द्र विक्रम शाहको भनाइ छ । कामै नगरेर विद्यालयको खातामा रकम निकासा गर्ने गलत प्रवृतिका कारण गत बर्ष नै काम सक्नु पर्ने केही विद्यालयले अझै काम सम्पन्न नगरेको उनले बताए ।
लामो समयको नाकावन्दी, निर्माण सामग्रीको अभाव आदि कारणले समयमा काम सम्पन्न हुन नसकेको हुँदा जिल्लामा आएको बजेट किन फ्रिज गर्ने भनेर विद्यालयहरुले काम सम्पन्न गरेपछि भुक्तानी दिनेगरी खातामा रकम निकासा गरिएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताए । उनले काम सम्पन्न नहुँदासम्म ती विद्यालयको बैंक खाता रोक्का गरिएको जनाए ।
कतिपय रकम आर्थिक बर्षको अन्तिममा आउने भएकोले पनि समयमा काम हुन नसकेको जिशिअ सिंहको भनाइ छ । उनले असार अन्त्यमा आएको बजेटले काम गर्न समसया भएको बताए ।
तर कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यामबहादुर बुढाले बंैकमा रकम निकासा गरिसकेपछि खाता रोक्न नमिल्ने बताएका छन् । उनले कार्य सम्पन्न प्रतिवेदन र विल नउठाएसम्म भुक्तानी दिन नमिल्ने बताए । उनले भने, ‘कामै नभएर कसरी भुक्तानी दिइएको र भुक्तानी दिइ सकेपछि किन खाता रोक्का गरियो ?’
जिल्ला शिक्षा कार्यालयका इन्जिनियर जगत आर.सी.ले काम नभएका विद्यालयको वील नउठाएको जानकारी दिदै काम भएपछि वील उठाउने र त्यसपछि मात्र खाता फुकुवा गरिने बताए ।
प्रकाशित मिति: ६ श्रावण २०७३, बिहीबार १७:५९