स्थानीय प्रशासनले सबै सुरक्षा निकायलाई झै भीमदत्तनगरमा रहेको नेपाली सेनाको भगतपुर ब्यारेकलाई पनि तटबन्धको अवस्थाबारे अवगत गराउना साथ सिंहसार्दुल गुल्मका गुल्मपति सेनानी सुजन शाक्य सैनिक टोली लिएर अबेर साँझ महाकालीतिर लागे ।
सेनाको टोली त्यहाँ पुग्दा निकै जोखिम मोलेर स्थानीयवासी आकस्मिक तटबन्ध निर्माणमा जुटेका थिए । सेना, सशस्त्र र नेपाल प्रहरी पनि तटबन्ध निर्माणमा जुट्यो ।
“पहिलो दिन राति १ बजेसम्म हाम्रो टोली तटबन्ध निर्माणमा जुट्यो ।” सिंहसार्दुल गुल्मका गुल्मपति सेनानी सुजन शाक्यले भने, “तत्काल तटबन्ध टालटुल नपारिएको भए नदी गाउँ पस्ने सम्भावना निकै थियो ।” उनले सेना लगायत अन्य निकाय तत्काल खटिनाले तटबन्ध भत्किनबाट जोगिएको बताए ।
दोधारा चादँनी नगरपालिका–४ लट्ठाघाट क्षेत्रमा पर्ने महाकाली नदीमा डेढ दशकअघि जाइकाले बनाइदिएको तटबन्ध मर्मत सम्भार गर्नुपर्ने अवस्थामा रहेको छ ।
त्यसैगरी मध्यरातसम्म जागाराम बसेर तटबन्ध बनाएर नदी गाउँ पस्नबाट रोकेको सेनाको टोली बुधबार पनि दिनभर तटबन्ध निर्माणमा जुटेको थियो ।
नदीले करिब २० मिटर तटबन्ध भत्काउन सुरु गरेको थिए । सेना र प्रहरीले गाउँमा रहेको ढुङ्गा र तारजालीको सहायतामा तटबन्ध बनाएका हुन । जसमा गाउँलेको पनि निकै ठूलो श्रमदान रहेको जनताको तटबन्ध फिल्ड कार्यालय नम्बर–७ का प्रमुख हिलानन्द यादवले बताए।
“सेना नभएको भए तटबन्ध भत्किएर चार वटा वडा डुबान पर्ने स्थिति थियो ।” जनताको तटबन्धका कार्यालय प्रमुख यादवले भने– “सुरक्षा निकाय रातभरि टर्च बालेर, गाडीको उज्यालोको सहारामा जोखिम मोलेर तटबन्ध बनाउन खटियो ।”
उनले तत्कालको जोखिम कम गर्न आकस्मिक तटबन्ध बनाइएको बताउँदै पुरानो तटबन्ध धेरै ठाउँमा मर्मत गर्नुपर्ने आवश्यता रहेको औँल्याए ।
“महाकाली पारी जाइकाले बनाएको करिब १८ किलोमिटर तटबन्धको धेरै ठाउँमा मर्मत गर्नुपर्ने आवश्यक छ ।” यादवले भने– “लट्ठाघाटको तटबन्धसँगै अन्यत्र पनि तत्काल मर्मत गर्नुपर्ने अवस्था छ ।”
रासस