काठमाडौं, ५ साउन । व्यवस्थापिका संसदको बिहिबार बस्ने बैठकमा तनाव हुने संभवना बढेको छ । प्रधानमन्त्री केपी ओलीले बुधवार एक सार्वजानिक कार्यक्रममा आर्थिक बिद्येयक रोकेर अविश्वासको प्रस्ताव अगाडि बढाएमा राम्रो नहुने चेतावनी दिएका छन् ।
कांग्रेस–माओवादीले दर्ता गरेको अविस्वास प्रस्तावमाथि बिहिबार बस्ने बैठकमा छलफल हुने कार्यक्रम छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त बैठकलाई सहजरुपमा चल्न नदिने संकेत गरेका हुन् । बुधबार राजधानीको कमलादीमा आयोजित अखिल नेपाल टे«ड युनियन महासंघको छैटौं महाधिवेशन प्रतिनिधि परिषद्को बैठक उद्घाटन गर्दै ओलीले भने–‘ ‘निर्णयार्थ प्रस्तुत हुन लागेको आर्थिक विधेयकलाई रोकेर, संस्थाको दुरुपयोग गर्दै अविश्वासको प्रस्ताव संसदमा ल्याउनै मिल्दैन,’ प्रधानमन्त्रीले काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा भने, ‘स्वाभाविक रुपमा हामीले भोलि ११ बजे त्यो हराएको प्रस्ताव कहाँ गयो भनेर खोज्ने काम गर्छौं । बलजफती गरेर अगाडी बढ्न नखोज्नु राम्रो हुन्छ ।’
उनले संविधानसभामा दर्ता भएको अविस्वासको प्रस्तावलाई कांग्रेस माओवादीको इश्र्या र चिन्ताको प्रस्ताव भन्दै सो प्रस्तावको औचित्य नभएको बताए । उनले आफूलाई जसरी पनि हटाउने प्रपञ्च रचिएको भन्दै अगाडि भने, ‘जसरी पनि सरकार हटाइन खोजिएको छ । यो चाहिन्छ र उ चाहिन्छ भन्ने हो भने घरबाटै ल्याउनु ।’ ओलीले आफ्नो सरकारले मजदुर, किसानलगायत सबै वर्ग र पेशाका नागरिकको पक्षमा काम गरेकाले त्यही डाहाले प्रस्ताव ल्याइएको समेत दाबी गरे ।
उनले कांग्रेस–माओवादीलाई संकेत गर्दै भने, ‘हल गोरु जसरी प्रस्ताव दर्ता गर्न जाने र पछि आएर राजीनामा माग्न यो कस्तो तरिका हो ? राजीनामा मागेको हो कि अविस्वासको प्रस्ताव दर्ता गरेको हो ?’ उनले आफ्नै सक्रियताले तराईमा आन्दोलन तथा नाकाबन्दी असफल भएको भन्दै माओवादी कांग्रेसको चर्को आलोचना गरे । कांग्रेस माओवादीले दुई तिहाइको दम्भ देखाएको भन्दै त्यस्तो हो भने संविधान नै संशोधन गरे भइहाल्यो नि भन्दै चेतावनी दिए । उनले भने, ‘उहाँहरुले दुई तिहाईको धाक लगाउनु भएको छ, दुई तिहाइमा संविधान संशोधन गरे भइहाल्यो नि ।’ उनले सभामुख जस्तो मर्यादित संस्थालाई दुरुपयोग गर्न कांग्रेस माओवादी लागेको आरोप समेत लगाए ।
प्रकाशित मिति: ५ श्रावण २०७३, बुधबार १६:३६