काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । दुई साताअघि निमोनिया भएपछि अस्पताल भर्ना गरिएका कोइराला आज घर फर्किएका हुन् ।
उपचारका क्रममा उनलाई केही दिनमा लागि भेन्टिलेटरमा समेत राखिएको थियो । एकाएक अस्वस्थ भएका सशांक कोइरालालाई ओम अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । केहि दिन उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य क्रमिक सुधार भएकाले आज डिस्चार्ज गरिएको हो ।
महामन्त्री कोइरालाले साधारण खानपान आफै गर्न थालेको र उच्च रक्तचाप, मुटुको धड्कन र युरिनको मात्रा पनि सामान्य अवस्था आइसकेको डा. जोशीले बताए । महामन्त्री कोेइराला अकस्मात् स्वास्थ्य अचानक गम्भीर भएपछि उनलाई गत असार २१ गते ओम अस्पतालमा भर्ना गरिएको थियो । चेत अवस्था रहेका उनलाई सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।
उनलाई डिस्चार्ज गरिए पनि चिकित्सकहरुले उनको अवस्था अझै चिन्तामुक्त नभइसकेको बताएका छन्। उनलाई थप उपचारका लागि विदेश लगिने भएको छ। तर कुन देशमा लग्ने भन्ने निर्णय भइसकेको छैन। यसबारे निर्णय उनकी पत्नी डा. सुपात्राले लिनेछिन्।
उनलाई निवासमा लान पत्नीसहित छोरी सुप्रिया, ज्वाइँ अनिल आएका थिए। त्यसैगरी कांग्रेसका केन्द्रीय नेताहरु र नेविसंघका विद्यार्थीहरुको पनि ठूलो समूह अस्पताल परिसरमा उपस्थित थिए। अस्पताल परिसरमा शशांकका समर्थकहरुको भिडले एकछिन अस्पताल अस्तव्यस्त झैँ बन्न पुगेको थियो।
तर उनी घर गए पनि करिब दुई सातासम्म आराम नै गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । अस्पतालबाट डिस्चार्ज हुने क्रममा पहेँलो सर्टमा देखिएका कोइरालाले केही बोल्न चाहेनन् । कार्यकर्ता माझ घेरिएका उनले हात मात्रै हल्लाए । अस्पताल परिसरमा भेला भएका कार्यकर्ता तथा आफन्तले शशांक कोइराला जिन्दावाद भन्दै नारा लगाएका थिए ।
प्रकाशित मिति: ५ श्रावण २०७३, बुधबार १०:२१