जुम्ला, ४ साउन । नेपालगंज देखि जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटनाका घाइतेहरुले अहिलेसम्म विमा कम्पनी र काष्ठमण्डप एयर कम्पनीले वेवास्ता गरेको बताएका छन् । उनीहरुले दुर्घटनाको एक हप्ता सम्म मिडियावाजी र शुभकामना दिएपछि पछिल्लो समयमा विर्षेको बताए ।
रिर्पोटर्स क्लव जुम्लाले गरेको साक्षात्कारमा उनीहरुले विमा कम्पनीमा सोध्दा काष्ठमण्डप एयर र काष्ठमण्डपलाई सोध्दा विमा कम्पनीलाई सोध्नु भनेर आलटाल गर्ने गरेको गुनासो गरेका हुन ।
दुर्घटनाका घाइते मेगराज गिरीले उपचार खर्च पनि आफै व्यहोर्नु परिरहेको गुनासो गरे । उनकी पत्नी जगदम्वा खत्री, छोरा प्रनिल गिरी समेत दुर्घटनामा परेक थिए । अहिलेसम्म जुम्लामा आउँदा काष्ठमण्डपले २० हजार रुपैयाँ दिएको छ अन्य कतैबाट पनि प्रोत्साहन मिलेको छैन्, उनले सुनाए । दुई चार दिन मिडियामा शुभकामना वाहेक सरकारबाट हेरिएको छैन् । एयर काष्ठमण्डपले त झन अलपत्र अवस्थामा छोडेको उनको गुनासो गरे ।
अर्का घाइते लक्ष्मण खड्काले दुर्घटनामा दातको समस्या र अनुहारको हड्डीभाच्चिएकोले अहिले पनि पिरोलीरहेको बताए । काष्ठमण्डपको नेपालगंज कार्यालय सम्पर्क विहीन भएको उनले गुनासो गरे ।
अर्का घाइते धनन्जय केसीले निजी अपतालमा उपचार गराउनु पर्दा निकै खर्च व्यहोर्नु परेको गुनासो पोखे । उनले भने, ३ लाख २५ हजार रुपैयाँ व्यक्तिगत खर्च भएको छ । रेखदेख र सोधपुछ पनि छैन ।’ घाइतेहरुको उपचार राम्रोसँग नगरेर कर्णालीका घाइते भनेर हेप्न मिल्दैन, उनले भने ।
गत वर्षको फागुन १४ गते काष्ठमण्डप एयरको जहाज कालीकोटको चिलखायमा दुर्घटना भएको थियो । जुम्लाका लागि ९ जना सवार भएको उक्त जहाज दुर्घटनामा चालक दलको मृत्यु भएको थियो भने यात्रु घाइते भएका थिए ।
प्रकाशित मिति: ४ श्रावण २०७३, मंगलवार १७:५७