सुर्खेत, ४ साउन ।
सुर्खेतमा यातायात व्यवस्था सेवा कार्यालयको सेवा विस्तार भएसगैँ राजस्व संकलनमा ह्वात्तै वृद्धि भएको छ । अघिल्लो वर्ष १ करोड ४६ लाख ८९ हजार ४ सय ८१ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले आर्थिक वर्ष ०७२/७३ मा ह्वात्तै बढेर ४ करोड ९ लाख ५ हजार २ सय ७५ रुपैयाँ राजस्व संकलन गरेको हो ।
२०७० पुस मा भेरी अञ्चल यातायात इकाइ कार्यालयका रुपमा स्थापन भएको सो कार्यालयले आर्थिक वर्ष ०७१/७२ देखि यातायात व्यवस्था सेवा कार्यालयका रुपमा सेवा दिइरहेको छ । कार्यालयले दिएको जानकारी अनुसार ट्राफिक कार्वाही बढ्नु, जनचेतना बढ्नु, कार्यालय सुर्खेतमै स्थापना भएको जानकारी हुनु र सरकारी कार्यालयहरुले आफ्ना सवारी साधानहरुको पनि राजस्व बुभाउनु पर्ने भएकाले राजस्वमा वृद्धि भएको हो ।
कार्यालयका प्रमुख श्रीसम्शेर रानाले सुर्खेतवाट यातायातका ३ वटा सेवा दिइ रहेको बताए । उनले व्लुवुक नविकरण, बाटो इजाजत पत्र नविकरण र भाडाका गाडीहरुको जाच पास सुर्खेतबाटै हुने गरेको जानकारी दिए ।
व्लुवुक नविकरण प्रत्येक वर्ष, रुट नविकरण ४ महिनामा एक पटक र जाच पास प्रत्येक ६ महिनामा एक पटक गर्नु पर्ने प्रावधान रहेको छ । यी सुविधाहरु सुर्खेतबाटै दिन थालेपनि यातायातका सेवाग्राहीहरुलाई नेपालगंज धाउनु पर्ने बाध्यता हटेको छ । प्रमुख रानाले भाडाका गाडी वस र मिनि वसलाइ राजस्वमा छुट दिने गरेको पनि जानकारी दिए ।
सुर्खेतमा यायातको कार्यालय स्थापना भएको ३ वर्ष विते पनि लाइसेन्स लगाएतका अरु सुविधा सेवाग्राहीहरुले अझै पाउन सकेका छैनन् । नयाँ लाइसेन्स लिन, नविकरण गर्न, रुट इजाजत पत्र लिन जस्ता थुप्रै यातायातका काम गर्न सेवाग्राहीलाई अझै अञ्चल यातायात कार्यालय बाँके धाउनु पर्ने बाध्यता रहेको छ । यातायात सेवा कार्यालय सुर्खेतको आफ्नै भवन नहुँदा विभिन्न सेवाहरु सुर्खेतबाट दिन नसकिएको कार्यालयले जनाएको छ ।
प्रमुख रानाले भवनका लागि टेन्डर प्रक्रिया सुरु भइ सकेको भन्दै भवन वने थप कामहरु माग गर्न सहज हुने बताएका छन् । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै ३ थरीका कामहरु सहित यातायात सेवा कार्यालय सुरु भएको र थप सेवा विस्तारै माग गर्दै जाने बताए । लाइसेन्स लगाएतका सेवाहरु सुर्खेती जनताले माग गरेपनि केन्द्रबाटै सुनुवाइ हुन नसकेको उनको भनाइ छ ।
प्रकाशित मिति: ४ श्रावण २०७३, मंगलवार १७:३५