सुर्खेत, ३ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले हालसम्म आयोगमा दर्ता हुन आएका मध्ये ८९ प्रतिशत उजुरी फछ्र्यौट गरेको जनाएको छ । आयोगको कार्यालय सुर्खेतमा स्थापना भएदेखि अहिलेसम्म दर्ता भएका उजुरी मध्ये ८९ प्रतिशत फछ्र्याैट गरिएको आयोगका सुर्खेत कार्यालय प्रमुख सिताराम कार्कीले जानकारी दिए ।
कार्यालय स्थापना देखि गत असारसम्ममा सुर्खेत र कोहलपुर कार्यालयमा गरी ३ हजार ५ सय ४४ वटा उजुरी दर्ता भएकोमा ३ हजार १ सय ५८ उजुरी फछ्र्यौट गरेको कार्यालय प्रमुख कार्कीले बताए । उनका अनुसार गत असारसम्म दर्ता हुन आएका उजुरी मध्ये धेरै उजुरी प्रारम्भिक चरणमै फछ्र्यौट गरिएको छ ।
वीरेन्द्रनगरमा सोमबार गरिएको पत्रकार सम्मेलनमा आयोगका कार्यालय प्रमुख कार्कीेले गत आर्थिक बर्ष सम्ममा सुर्खेतमा ६ सय ६२ र कोहलपुर कार्यालयमा २ सय ५६ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको जानकारी दिए ।
गत बर्षमा सुर्खेतमा दर्ता भएका ६ सय ५० र अघिल्लो वर्षबाट जिम्मेवारी सरेको ६ सय ६२ गरी १ हजार ३ सय १२ उजुरी मध्ये १ हजार ५९ उजुरी फछर्यौंट भइ २ सय ५३ उजुरी बाँकी रहेको आयोगले जनाएको छ ।
यसैगरी गत आर्थिक वर्षमा कोहलपुरमा दर्ता भएको ५ सय १ र अघिल्लो बर्षको जिम्मेवारी सरेको २ सय ५६ गरी ७ सय ५७ उजुरी मध्ये ६ सय २४ उजुरी फछ्र्यौट भइ १ सय ३३ बाँकी रहेको आयोगको कार्यालयका प्रमुख कार्कीले जानकारी दिए ।
आयोगको रेकर्ड अनुसार जिल्ला तहको उजुरी विवरण हेर्दा सबैभन्दा बढी बाँकेमा ३ सय ९३, सुर्खेतमा ३ सय २५ दाङमा २ सय ९२ र बर्दियामा २ सय २ वटा उजुरी दर्ता भएका थिए । यस्तै कालिकोटमा १ सय ३९, जुम्लामा ७४, डोल्पामा २८, मुगुमा ५१, हुम्लामा ६२, जाजरकोटमा १ सय ८४, दैलेखमा १ सय २१, प्युठानमा ११, सल्यानमा ७३, रुकुममा ५४ र रोल्पामा ६० वटा उजुरी परेको छ ।
दर्ता भएका उजुरी मध्ये केही उजुरी व्यक्तिगत रिसिविका कारण पनि दर्ता हुने गरेको पाइएको आयोगले जनाएको छ । विवरण अनुसार मन्त्रालय अन्तर्गतको उजुरीमा सबैभन्दा बढी शिक्षामा ७ सय ८, संघिय मामिला तथा स्थानीय विकास तर्फ ४ सय ४० र वन तथा भू–संरक्षण तर्फ २ सय ८० वटा उजुरी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले उजुरी फछ्र्यौट गरे वापत विगो दाबी गरेको मध्ये ३५ लाख ७२ हजार ४ सय ७५ असुल गरेको र १ करोड ७ लाख ८९ हजार ५ सय २१ रुपैयाँ अनुसन्धानको क्रममा असुल उपर गरेको कार्यालय प्रमुख कार्कीले जानकारी दिए । कार्यालयले असुल उपरको निर्णय गरेपनि ५९ हजार ६ सय रुपैयाँ भने अझै असुल हुन नसकेको जनाएको छ ।
अख्तियारले २८ वटा निकायलाई आवश्यक कार्बाहीका लागि सम्बन्धित निकायमा लेखि पठाएको र २ जनालाई विभागीय कारवाही गरेको आयोगले जनाएको छ । १३ जनाका नाममा अभियोगपत्र दायर गर्नुकासाथै १८ जना प्रतिवादी रहेको र ११ जनालाई रंगेहात पक्राउ गरेको आयोगका कार्यालय प्रमुख कार्कीले बताए ।
प्रकाशित मिति: ३ श्रावण २०७३, सोमबार १९:०६