फलेवास (पर्वत), ३ साउन । पर्वत जिल्लाको देउपुरमा सञ्चालित १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविधुत् आयोजनाबाट विधुत् उत्पादन थालिएको छ ।
खोलाको बाढी पसेपछि अवरुद्ध भएको विधुत् उत्पादन साेमबार बिहानदेखि सुरु भएको हो । बाढीका कारण इन्टेकभन्दा माथिल्लो भागमा समस्या आएपछि विगत पाँच दिनसम्म विधुत् उत्पादन बन्द भएको थियो । मर्मतपछि सोमबार बिहानदेखि उत्पादन पुनः सुरु भएको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
उत्पादन सुरु भए पनि अहिले आधा क्षमतामा मात्रै उत्पादन भएको छ । बाढीका कारण इन्टेक भन्दा माथिको भागमा क्षति पुगेको र सुरुङमा पूरै क्षमतामा पानी पठाउन नसकिएका कारण आधा मात्रै उत्पादन भएको हो ।
अहिले ७ मेगावाट मात्रै उत्पादन भएको मोदीखोला जलविधुत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनका अनुसार बाढीले भत्काएको भाग मर्मत गरेर पानी पठाउन सुरु गरिएको छ । समस्या आएलगत्तै ठेकेदार कम्पनी र प्राधिकरणका विशेषज्ञ प्रविधिज्ञको टोली आएर मर्मत कार्यलाई अघि बढाएको थियो । अहिले एउटा टर्वाइन मात्र सञ्चालनमा आएको छ । केन्द्रका अनुसार वर्षायाममा पानीको वहाब उच्च भए पनि बाढीका कारण पूरै पानी पठाउन नसकिने भएकाले उत्पादनमा कमी आएको हो ।
बाढीले २५ मिटर बाँधको पर्खाल भत्किएको थियो । अब मङ्सिर, पुसबाट मात्रै यसको मर्मतको काम सुुरु हुने बताइएको छ ।
यता तल्लो मोदी ‘ए’ मा पनि बाढीका कारण आइतबार उत्पादन पूर्णरुपमा बन्द भएको थियो । मोदीखोलामा कङ्क्रिट र लेदोसँगै आएको बाढीका कारण उत्पादन गृहमा थप समस्या नआओस् भनेर आइतबार बन्द गरिएको आयोजनाका प्राविधिक प्रकाश अधिकारीले जानकारी दिए ।
उनका अनुसार साेमबार बिहानैदेखि यस आयोजनाबाट विधुत् उत्पादन सुरु भएको छ । अहिले तल्लो मोदीखोला ‘ए’ बाट ८ मेगावाट विधुत् उत्पादन भइरहेको अधिकारीले जानकारी दिए । गत वर्षको साउनमा आएको बाढीका कारण झन्डै रु ३० करोडको क्षति पुर्याएको तल्लो मोदीखोला ‘ए’ जलविधुत् आयोजनाबाट गत मङ्सिरदेखि मात्रै उत्पादन सुरु भएको थियो । रासस