अङ्कारा, ३ साउन । टर्कीमा सत्ता हत्याउने प्रयास विफल भएको एक दिनपछि यहाँका राष्ट्रपति रेसिप तेयिप एर्डोगनले सरकारी निकायमा रहेका भाइरसलाई झिकेर फालिने बताएका छन् ।
उनले यसपालि सत्ता हत्याउने खेल असफल भए पनि आगामी दिनमा पनि ती खेलहरूलाई मलजल गर्नखोज्नेहरू बाँकी नै रहने खतरा भएकाले उनीहरूलाई झिकेर फालिने बताएका हुन् ।
उनले शुक्रबार राति भएको सत्ता हत्याउने सैनिक विद्रोहमा मारिएका व्यक्तिको शवयात्राका क्रममा दिएको सन्देशमा सो धारणा राखेका हुन् ।
उनले राज्यका विभिन्न निकायमा यस्ता भाइरसहरू रहेको अनुमानका आधारमा अब सरकारले आगामी दिनका लागि सफाई अभियान सुरु गर्ने धारणा पनि राखेका छन् ।
दुई ठूला सहरहरू इस्तानबुल र अङ्कारामा शुक्रबार राति भएको गोलाबारी र विस्फोटका घटनापति विद्रोही सेनाका व्यक्ति र सर्वसाधारण गरी एक सयभन्दा बढीको ज्यान गएको थियो ।
साथै यसमा परी ७०० भन्दा बढीलाई सरकार समर्थित सेनाले गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा जर्नेलसहित २९ जना उच्च पदस्थ सैनिक अधिकारी पनि रहेका छन् ।
सेना र विद्रोहीको गोली लागेर एक सय जनाभन्दा बढी नागरिकको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
राष्ट्रपति एर्डाेगनले टर्कीको सत्ता लिएको १३ वर्ष पुग्नै लागेको छ र यसबीचमा उहाँको सत्ताविरुद्ध आवाज उठ्न थालेको छ ।
टर्कीमा पछिल्लो समयमा जारी हिंसा र आक्रमणलाई पनि उनको सत्ताका विरुद्धमा आएको आवाजसँग जोडिएको छ ।
राष्ट्रपति एर्डाेगनले यसलाई देशद्रोहको संज्ञा दिएका छन् । उनले भने– ‘यो राष्ट्रद्रोह हो, यो विद्रोहमा संलग्न हुनेले महङ्गो मूल्य चुकाउनु पर्नेछ’ ।
सरकारले परिस्थितिलाई नियन्त्रणमा लिने उद्देश्यले दुवै सहरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा जारी रहेका स्थानमा पाँच जनाभन्दा बढी व्यक्तिलाई जम्मा हुने र साथसाथै हिँडडुल गर्न पनि दिइएको छैन ।
ग्रीस भाग्ने सैनिकलाई उतै कारबाही
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार टर्कीमा हिंसात्मक विद्रोहमार्फत सत्ता हत्याउने प्रयास बिफल भएपछि त्यहाँबाट भागेर ग्रीस पुगेका सैनिकलाई उतै कारबाहीको तयारी भइरहेको समाचारमा जनाइएको छ ।
उनीहरूले ग्रीसको अदालतमा उपस्थित भई आफूविरुद्धको अभियोगको जवाफ दिनुपर्ने भएको छ ।
गएको शुक्रबार राति भएको यो प्रयास असफल भएपछि त्यसमा सम्लग्न हुने सैनिक जर्नेलहरू कारबाहीबाट बच्नका लागि टर्कीको सेनाको हेलिकोप्टर प्रयोग गरेर ग्रीसतर्फ भागेका थिए ।
तर उनीहरूले अवैध रूपमा टर्की प्रवेश गरेको, अवैधानिक रूपबाट सेनाको हेलिकोप्टर प्रयोग गरेको आरोपमा ग्रीसमा नै उनीहरूविरुद्ध यस्तो कारबाही गरिने भएको हो ।
ती सैनिकलाई ग्रीसका मुद्दा हर्ने अधिकारीसमक्ष उपस्थित गराइएको छ । त्यसमा उनीहरूले आफ्नो अभियोग पुष्टि गर्न नसकेको बताइएको छ ।
यता सैनिक विद्रोह असफल हुने निश्चित भएपछि टर्कीका आठजना उच्च पदस्थ सैनिक अधिकारी टर्की भागेका थिए । रासस/एएफपी