बेनी नगरपालिका–५ डम्मरामा खानेपानी सुविधा पु¥याउन नदी किनारबाट डाँडामा पानी तानिएको छ ।
भूकम्पले मुहान सुकेपछि खानेपानीको अभाव भएको डम्मरामा विद्युतीय उपकरणको सहायताले पानी तान्ने योजना निर्माण भएको हो ।
राष्ट्रिय पुनःनिर्माण कोषको रु आठ लाख ९० हजार अनुदान र स्थानीय बासिन्दाको रु सात लाख ७० हजारको लागतमा खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयमार्फत आयोजना निर्माण भएको हो ।
म्याग्दी नदीको किनारमा रहेको निलढुङ्गाको मुहानबाट ९० मिटर उचाइमा रहेको दुई हजार लिटर क्षमताको ट्याङ्कीमा पानी तानिएको सब डिभिजन प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताए ।
उनका अनुसार विद्युत्को सहायताले चल्ने उपकरण (समसिवल वाटर पम्प)ले नदी किनारको पानी तानिएको हो । म्याग्दी जिल्लामा पहिलो पटक यस्तो नयाँ प्रविधिको खानेपानी आयोजना निर्माण भएको इन्जिनियर केसीले बताए ।
आयोजना निर्माण भएपछि डम्मराका ६९ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष फौजबहादुर कार्कीले बताए । उनका अनुसार सबै घरमा खानेपानीको धारा जडान गरिएको छ ।
बस्तीभन्दा माथिको पाखोमा रहेको खानेपानीको मुहान गत वर्षको भूकम्पपछि सुकेकाले डम्मरावासी समस्यामा परेका थिए । नदी किनारबाट पानी तानेर आयोजना निर्माण गरेपछि चौसीसै घन्टा धारामा पानी आउन थालेपछि स्थानीयवासीलाई राहत मिलेको छ ।
खानेपानी तथा सरसरफाइ सब डिभिजन कार्यालयले पाइप, उपकरण खरिद, विद्युत्गृह र ट्याङ्की निर्माण गर्न अनुदान सहयोग गरेको थियो । स्थानीयवासीले रु तीन हजार ५०० का दरले नगद सङ्कलन गरेर व्यक्तिगत धारा र श्रमदान गरेर पाइप लाइन विस्तार गरेका उपभोक्ता समितिका सहसचिव जङ्गबहादुर खत्रीले बताए ।
रासस