जाजरकोट, ३ साउन ।
अविरल वर्षाका कारण जिल्लाको रोकायगाँउको गाग्रेखोलामा आएको बाढीले पुल बगाउँदा जिल्लाको उत्तरी वारेकोट क्षेत्रका सयौं स्थानीयहरुको आवात जावात वन्द भएको छ ।
रोकायगाउँ गाविस– १ को गाग्रेखोलामा रहेको काठेपुल वाढीले वगाएपछि उक्त गाविसका विभिन्न वडाका बासिन्दालाई एक गाउँवाट अर्को गाउँमा आवाज जावत गर्न समस्या परेको स्थानीय भीमबहादुर सिंहले वताए । पुल बगेपछि गाउँको आवाज जावात मात्र नभइ वाहिरी गाविसहरु पैंक, नायकवाडा, रामीडाँडा, सदरमुकाम खलंगा र जुम्ला जाने वाटो समेत वन्द भएको स्थानीय बासिन्दा भीमबहादुरले वताए ।
स्थानीयको श्रमदान र गाविसको सयुक्त लगानीमा गत वर्ष वनेको पुल वाढीले बगाएपछि स्थानीयहरु ठुलो मर्कामा परेका छन् । बाढीले सोही खोलाबाट उत्पादन गरिएको गाग्रे खोला लघु जलविद्यूत आयोजनाको कुलो भत्किदा विजुली समेत वन्द भएको भीमबहादुरले बताए । त्यसैगरी बाढीले उक्त खोलामा रहेका घट्टहरु वगाउदा स्थानीयलाई पिठो पिस्न समस्या परेको उनले वताए । खोलामा आएको बाढीले नायकवाडा, रामीडाँडा र रोकायगाउँका चार दर्जन बढीको करिब ३ सय रोपनी खेत कटान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रोकायगाउँमा पुल भत्किएर आवातजावात वन्द भएको वारेमा प्रहरी रिपोर्ट पछि बाढी पहिरोको क्षतिको विवरण आउने बताए । गत वर्ष भन्दा यस वर्ष जिल्लामा पानी अत्यधि परिरहेको र यसवाट बाढी पहिरोको खतरा रहेकोले सचेत रहन प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन् ।
त्यस्तै सदरमुकाम खलंगाको शान्तिचौतारा र गैरीखालीवाट रिसाङ हुँदै पाँचकटिया जाने मुल सडक माथिवाट आएको पहिरोले यातायातका साधन चलाउन समस्या परेको छ । पहिरोकै कारण पाँचकटिया जाने जीप सेवा पनि वन्द भएको छ । सदरमुकाम छेउछाउको सडक खुलाउन भेरीमालिका नगरपालिकाले पहल गरिरहेको प्रजिअ गौतमले बताएका छन् ।
प्रकाशित मिति: ३ श्रावण २०७३, सोमबार ०७:४४