काठमाडौँ, २ साउन । भूकम्पले क्षति पुर्याएको ठाउँमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आपसी सहयोग, सहकार्य र आलोपालोमा काम गर्ने व्यवस्था मिलाउन बस्ती तथा टोलहरुमा पुनर्निर्माण सामुदायिक समितिहरु गठन गरिने भएको छ ।
पुनर्निर्माण सम्बन्धी कार्यमा स्थानीय समुदायको सहभागिता र स्वामित्व अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सामुदायिक समिति सम्बन्धी निर्देशिका २०७३ लाई अन्तिम रुप दिएको छ ।
निर्देशिका अनुसार भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माणका लागि स्थानीय बासिन्दाद्वारा सम्बन्धित गाविस तथा नगरपालिकाका बस्ती तथा टोलमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पुनर्निर्माण समिति गठन गरिने भएको हो ।
गत बुधबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले पारित गरेको निर्देशिका अनुसार समितिमा बस्ती वा टोल भेलाले आफूमध्येबाट चुनेको अध्यक्ष, भेलाले छानेका कम्तीमा तीन जना महिला सहित पाँच जना र एक जना सदस्य सचिव रहनेछन् ।
समितिले आफ्नो समुदायमा क्षतिग्रस्त भएका घरहरुको पुनर्निर्माणमा आपसी सहयोग आदान प्रदान गर्ने गराउने, बस्ती तथा वडा स्तरमा रहेका पूर्वाधारहरुको पुनर्निर्माण कार्यमा कार्यरत निकाय तथा संघ संस्थाहरुलाई सहयोग र सहजीकरण गर्ने रहेका छन् ।
यस्तै निर्देशिका अनुसार समितिहरुले बस्ती तथा वडास्तरमा पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धमा परेका गुनासोहरुका सम्बन्धमा पुनर्निर्माण समन्वय समितिलाई आवश्यक सल्लाह, सुझाव दिनेछन् ।
समितिहरुले स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायसंग समन्वय गरी समितिको संस्थागत विकास, क्षमता अभिबृद्धि, समुदाय स्तरको सामाजिक तथा आर्थिक सम्बृद्धिसँग सम्बन्धित कृयाकलापहरु संचालन गर्ने गराउनेछन् ।
यस्तै क्षतिग्रस्त निजी घरहरुको पुनर्निर्माणमा गा.वि.स सचिव, नगरपालिकाका कार्यकारी अधिकृत, प्राविधिकहरु तथा सहजकर्ताहरुलाई आवश्यक सहयोग पुर्याउनेछन् ।
समुदाय तथा टोलस्तरमा भूकम्प प्रभावितहरु तथा अन्य गरिब तथा सीमान्तकृत व्यक्तिहरुको जिविकोपार्जनका आधारहरु विकास गर्न आवश्यक कार्यक्रमहरुको पहिचान, विकास र कार्यान्वयन गर्नेछन् । यस्ता कार्यक्रमहरुमा विभिन्न सरकारी निकाय तथा गैरसरकारी संस्थाहरुबाट प्राप्त स्रोत तथा सहायताको प्रभावकारी परिचालन गर्ने गराउनेछन् ।
बस्ती तथा टोलका सबै व्यक्ति सदस्य बन्न पाउने गरी सहकारीको संचालन गरी उक्त सहकारी मार्फत् स–सानो वचत संकलन, सदस्यहरुबीच लगानी प्रवाह, सीप विकास, उद्यमशीलता प्रबर्धन तथा अन्य स्वरोजगारमूलक तथा आय आर्जनका कार्यक्रमहरु सञ्चालन गर्न प्रेरित गर्ने कार्य रहेको निर्देशिकामा उल्लेख छ ।
समितिहरुले पुनर्निर्माण र समुदायको विकासमा समितिलाई क्रियाशील गराई यस कार्यमा स्थानीय निकायलाई सहयोग गर्ने, सामुदायिक हीत अभिवृद्धि गर्न सहयोगी समूहको रुपमा कार्य गर्ने र पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा स्थानीय जनतालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने रहेका छन् ।
निर्देशिका अनुसार नगरपालिका वा गाविस तहमा भूकम्प पश्चातको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा सहयोग, समन्वय तथा सहजीकरण गर्न पुनर्निर्माण समन्वय समिति समिति पनि गठन गरिनेछ । जसमा पुनर्निर्माण सामुदायिक समितिका अध्यक्षहरुको भेलाले छनौट गरेको एक जना संयोजक, पुनर्निर्माण सामुदायिक समितिका अध्यक्षहरु मध्येबाट महिला सहित छनोट भएका दुई देखि छ जना सदस्य, वडा नागरिक मञ्चका अध्यक्षहरु मध्येबाट कम्तीमा एक जना महिला सहित समितिले छनोट गरेका दुई जना सदस्य रहनेछन् ।
यस्तै नागरिक सचेतना केन्द्रका प्रमुखहरु मध्येबाट कम्तीमा एक जना महिला सहित समितिले छनौट गरेका दुई जना सदस्य र सम्बन्धित स्थानिय निकायद्धारा तोकिएको कर्मचारी सचिव रहनेछन् ।
पुनर्निर्माण समन्वय समितिहरुले भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्ने, लाभग्राहीहरुसँग गरिने अनुदान संझौता कार्यमा सम्बन्धित स्थानीय निकायलाई सहयोग गर्नेछन् ।
यस्तै स्थानीय तहको एकीकृत पुनर्निर्माण तथा पुनस्र्थापना योजनाको तर्जुमा कार्यमा स्थानीय निकायलाई सहयोग गर्नेछन् । स्थानीय तहमा क्रियाशील राजनैतिक दलहरुसँग समन्वय गरी पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्यमा आवश्यक राजनैतिक सहमतिको वातावरण बनाउनेछन् ।
लाभग्राही पहिचान तथा दर्ताको क्रममा परेका उजुरीहरुको वास्तविकता पहिचान गर्न सहयोग पुर्याउने र लाभग्राहीलाई अनुदान रकम उपलब्ध गराउन सम्बन्धित स्थानिय निकायलाई गर्न पृष्ठपोषण गर्नेछन् ।
यस्तै पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा सहयोग गर्ने संघ संस्थाहरु बीच समन्वय गर्न गाउँ विकास समिति र नगरपालिकालाई सहयोग पुर्याउने, सरकारी निकाय तथा अन्य संघ संस्थाबाट उपलब्ध गराइने राहत तथा अन्य सुविधा नपाउनु पर्ने व्यक्तिले लिएको अवस्थामा सो को जानकारी सम्बन्धित स्थानीय निकायमा गराउनेछन् ।
समितिहरुले पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यको बारेमा स्थानीय समुदाय तथा लाभग्राही परिवारलाई जानकारी दिने र उनीहरुलाई पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी काममा सहभागी गराउनेछन् । यस्तै लाभग्राही सूचीमा परेका घरमूली बाहिर भएको कारण एकाघरका परिवारका अन्य सदस्यले अनुदान संझौता गर्नु पर्ने अवस्थामा त्यस्ता व्यक्तिको घरमूलीसंगको नाता फरक नपर्ने गरी प्रमाणित गर्नमा सम्बन्धित स्थानीय निकायलाई सहयोग पुर्याउने पनि निर्देशिकामा उल्लेख छ ।
निर्देशिका अनुसार समितिहरुले लाभग्राहीहरुको गुनासोको सम्बन्धमा छलफल गरी सम्बन्धित गाविस तथा नगरपालिकाहरुलाई आवश्यक सुझाव दिने, स्वयंसेवक परिचालनमा आवश्यक समन्वय र सहजीकरण गर्नेछन् । पुनर्निर्माणको कार्यको कार्यप्रगति तथा वास्तविक अवस्थाका बारेमा आवश्कता अनुसार सार्वजनिक सुनुवाई गरी सम्बन्धित स्थानीय निकायमा जानकारी गराउने, पुनर्निर्माणको क्रममा उत्पन्न समस्याको स्थानीय स्तरमा समाधान गर्न पहल गर्नेछन् ।
प्रकाशित मिति: २ श्रावण २०७३, आईतवार १८:१८