सुर्खेत, २ साउन ।
पछिल्लो समयमा सुर्खेत जिल्लामा ब्राउन सुगर र अफिम ओसार पसारमा मात्रै नभएर सेवनमा समेत झन झन बढ्दै गइरहेको छ । पैसा कमाउने छिटो र सजिलो उपाय मानिने हुनाले ब्राउन सुगर, अफिम जस्ता लागु औषध ओसार पसार कार्यमा बृद्धि हुँदै गएको पाइन्छ ।
लागुऔषध ओसार पसारमा र सेवनमा विगत वर्षको तुलनामा गतिविधि बढ्नाले पनि जिल्लामा विगत भन्दा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक बहादुर जंग मल्लले बताए । उनले सुर्खेतमा आर्थिक वर्ष ०७१/०७२ को तुलनामा ०७२/७३ मा लागुऔषध ओसार पसारमा दोब्बर भएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा भएको रेकर्ड अनुसार आर्थिक वर्ष ०७२/७३ मा लागु औषध कारोवार तथा ओसार पसारमा सम्लग्न भएको घटनामा १ जना महिला र २३ जना पुरुष गरी २४ जनालाई पक्राउ गरिएको छ । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार जिल्लाका विभिन्न स्थानबाट ६७ ग्राम ब्राउन सुगर, १७ ग्राम अफिम, ७१ थान नाइट्रोसन ट्यावलेट बरामद गरेको थियो भने आर्थिक वर्ष ०७१/७२ मा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
लागुऔषध सेवन र ओसार पसारमा १६ वर्ष देखि २५ वर्ष सम्मका युवायुवतीको बढी सम्लग्न देखिएको प्रहरी नायव उपरीक्षक मल्लले बताए । मल्लले भने ‘पछिल्लो समयमा बेरोजगारी संख्या बढ्दै गइरहेको छ, मान्छेहरु सजिलै पैसा कमाउने माध्यमले गर्दा पनि लागुऔषध ओसार पसारमा धेरै लागेका छन् ।’
प्रहरी नायव उपरीक्षक मल्लले सुर्खेत जिल्लामा आधुनिकतासँगै महिलाहरुमा पनि मदिरापनको लत र लागुऔषध सेवनमा वृद्धि भइरहेको बताए । उनले भने, ‘अहिले आधुनिकतासँगै महिलाहरुलाई मदिराको लत लागेको पाइन्छ, मदिरा पिएर होहल्ला गरेका ७ जना महिलाहरुलाई पक्राउ पनि गरेका थियौँ ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष ०७२/७३ मा लागुऔषध ओसार पसारमा अदालतमा १२ वटा मुद्दा दर्ता भएको छ । जिल्लामा लागुऔषध ओसार पसारमा र सेवनमा महिला भन्दा पुरुषको संख्या धेरै रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।
भारतको रुपैडिया हुँदै सुर्खेत ल्याइएको ब्राउन सुगरको बजारमा खुद्रा मूल्य प्रति ग्राम ८ हजार देखि ९ हजार रुपैयाँ पर्ने गर्दछ भने अफिम प्रतिग्राम १२ हजार देखि १७ हजार रुपैयाँ पर्ने र नाइट्रोसन प्रति थान (१ थानमा १० क्याप्सुल) ५ सय देखि ६ सय रुपैयाँसम्म पर्ने गर्दछ ।
प्रकाशित मिति: २ श्रावण २०७३, आईतवार १७:४६