जाजरकोट, २ साउन ।
जाजरकोट जिल्ला सदरमुकाम स्थित नेपाल खाद्य संस्थानको गोदाममा चामल भरीभराउ छ, तर गाउँमा रहेका संस्थानकै डिपोमा चामल नहुँदा स्थानीय वासिन्दा चरम खाद्य संकटको चपेटामा परेका छन् ।
खेतवारीमा हिउँदे अन्न उत्पादन ह्वात्तै घटेपछि चरम खाद्यसंकटको सामना गरिरहेका जिल्लाको उत्तरी बारेकोट क्षेत्रका स्थानीय बासिन्दा नायकवाडा स्थित घाट खाद्य डिपोमा चामल लिन लाम लाग्ने गरेका छन् । तर चामल लिन डिपो पुग्नका रित्तै फर्कन बाध्य भएका छन् ।
घाट डिपोमा चामल लिन आउनेको निकै भिड बढेपछि खाद्य संस्थानका नायवसुब्बा दीपक अर्यालले प्रहरीको सहयोग लिएर प्रति ब्यक्ति १० केजीका दरले चामल बाँड्ने गरेका छन् । एउटै ब्यक्ति दोहरिएर आउने, एकै घरका तीन÷चार जना आउने गर्न थालेपछि प्रहरीले हातमा मार्करले चिन्ह समेत लगाएर फेरी लिन नपाइने नियम लगायो, तर पनि भीड नियन्त्रण गर्न सकिएन नासु अर्यालले भने ।
बारेकोट क्षेत्रमा खाद्यन्नको माग धेरै भएकाले पुर्याउनै नसकिएको खाद्य संस्थानका नायवसुब्बा अर्याले बताए । उनले गत शुक्रवार चामल लिन आएका एक हजार मध्य ६ सय जनालाई दियौ तर ४ सय जति रित्तै फर्किएको जानकारी दिए ।
शनिबार चामल वितरण गरेपछि सकिएको नासु अर्याले बताए । उनले बाढी पहिरोका कारण बाटो विग्रिएकोले थप चामल ल्याउन समस्या भएको हुनाले चामल मौजदात नरहेको डिपो इन्चार्ज अर्यालले जनाए ।
जुम्ला जिल्लासँग सिमाना जोडिएका विकट नायकवाडा, रोकायगाँउ, रामीडाँडा र सक्ला गाविसमा खाद्य संकटका कारण भोकमरी देखिन थालेको स्थानीय मोहन नेपालीले बताए । उनले गाउँमा खाने अन्न नभएको बताए ।
गाउँका लागि नजिकमा खाद्य पसल नभएको र खाद्य डिपोले चामल पनि नपाइने भएकाले दिनभरी लाइनमा कुर्न मै दिन जाने गरेको स्थानीय वासिन्दा मोहनले बताए । उनले शुक्रवार र शनिवार चामल लिन गएका सयौ नागरिक नपाएर रित्तै फर्किएको बताए ।
सरकारले खाद्य संस्थान मार्फत चामलमा ढुवानी अनुदान दिने भएकाले निजी क्षेत्रका ब्यापारीले लिएको भन्दा प्रतिकेजी २५ रुपैयाँसम्म सस्तो पर्ने गर्दछ । संस्थानको चामल ५० रुपैयाँ प्रति केजीमा पाइने चामल व्यापारीबाट लिँदा ७५ रुपैयाँसम्म पर्ने गर्दछ ।
अहिले जिल्ला सदरमुकामको गोदाममा २ हजार ८ सय क्वीन्टल चामल मौज्दात रहेपनि घाट खाद्य डिपोमा ५० क्वीन्टल पनि चामल मौज्दात छैन । सदरमुकामको चामल विक्री नभएर थन्किएको छ तर डिपोमा चामलको माग अत्याधिक छ, माग बमोजिम चामल पुर्याउन नसकिएको नेपाल खाद्य संस्स्थानका जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतको भनाइ छ ।
घाट खाद्य डिपो लिने भनेको करिब डेढ सय क्वीन्टल चामल बाटो विग्रिएर अलपत्र परेको खाद्य संस्स्थानका जाजरकोटका प्रमुख बस्नेतले बताए । खाद्यान्नको सवै भन्दा बढी समस्या साउन र भदौमा देखिने गरेको उनको भनाई छ ।
चाडवाड आइरहेको हुनाले चामलको माग अत्याधिक भएको संस्थानका प्रमुख बस्नेतले बताए । गत आर्थिक वर्षको चामलको कोटा सकिएकोले नयाँ टेण्डर आव्हान भएर स्वीकृति हुँदासम्म समस्या पर्ने संस्स्थानका प्रमुख बस्नेतको भनाइ छ । त्यस्तै जिल्लाको पजारु र दशेरा खाद्य डिपोमा सप्लायर्सले समयमा चामल ढुवानी नगरेका कारण थप समस्या देखिएको खाद्य संस्थान जाजकारेटले जनाएको छ ।
प्रकाशित मिति: २ श्रावण २०७३, आईतवार १५:५१