सुर्खेत, १ साउन । विगत वर्षमा साउन भरी पनि रोपाईं नसकिने सुर्खेतमा यस वर्ष भने साउनको पहिलो हप्तामै रोपाईं सकिने भएको छ । यस वर्ष समयमै वर्षा भएपछि साउनको पहिलो हप्तामै रोपाईं सकिने भएको हो ।
मौसमले साथ दिएका कारण साउन पहिलो हप्तामै सुर्खेतको सबै खेतीयोग्य जमिनमा रोपाई हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विजय गिरीले जानकारी दिए ।
जिल्ला कृषि विकास कार्यालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ कृषि विकास अधिकृत गिरीले असार महिनाको अन्त्यसम्म सुर्खेतमा ६० प्रतिशत रोपाई भएको बताए ।
पत्रकार सम्मेलनमा जिल्ला कृषि विकास कार्यालय अन्तर्गत सुर्खेतमा चालु वर्षका लागि विनियोजन गरेको ७ करोड ७९ लाख १३ हजार रुपैयाँ मध्ये ९५ प्रतिशत रकम खर्च भएको वरिष्ठ कृषि विकास अधिकृत गिरीले जानकारी दिए । उनले जिल्ला कृषि कार्यालयबाट सबैभन्दा बढी फलफुल उत्पादनमा लगानी गरेको जनाए ।
कार्यालयले एक बर्षको अवधिमा १० हजार कागती, ११ हजार आँप र ६ हजार लिचीका विरुवा वितरण गरेको जनाएको छ ।
वरिष्ठ कृषि विकास अधिकृत गिरीले कार्यालयले एक बर्षको अवधिमा गरेका गतिविधिको जानकारी दिँदै ६४ लाख ४० हजार रुपैयाँ युवा लक्षित कार्यक्रममा खर्च गरिएको जानकारी दिए । यस कार्यक्रम अन्र्तगत १ सय ६१ महिलाका लागि च्याउँ र तरकारीमा सहयोग गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले ४९ वटा साना सिंचाई योजना, ३ सय वटा भकारो सुधार, १४ हजार प्याकेट खाद्यवाली वीउ, २ सय ६० मौरी घार र ५ लाख माछाको भुरामा वितरण गरिएको जनाएको छ ।
जिल्ला कृषि विकास कार्यलय सुर्खेतले ३६ दशमलव ४६ मेट्रिकटन धान, २३ दशमलव १ मेट्रिकटन मकैको वीउ वितरण समेत गरेको जनाएको छ ।
प्रकाशित मिति: १ श्रावण २०७३, शनिबार ०७:४९