पाल्पा, ३१ असार । जिल्लाको पश्चिमी भेगस्थित सत्यवती गाविसमा विधुत् विस्तार भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।
वर्षौंदेखिको बिजुली बाल्ने सपना पूरा भएपछि यहाँका स्थानीय हर्षित भएका हुन् । केन्द्रीय प्रसारण लाइनअन्तर्गत विद्युत् विस्तार भएपछि टुकी बाल्नुपर्ने बाध्यता हटेको छ । भौगोलिक विकटताका कारण त्यस क्षेत्रका बासिन्दा अहिलेसम्म टुकीको भरमा उज्यालोमा रात बिताउन बाध्य थिए ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, नेपाल विद्युत् प्राधिकरण र स्थानीय श्रमदानबाट गाउँमा बिजुली बाल्न सफल भएको हो ।
सांसद हरिप्रसाद नेपालको दुई वर्षदेखिको अभियानले यस वर्ष बिजुली बाल्न पाएको सत्यवती माविका प्रधानाध्यापक अर्जुन मरासिनी बताउँछन् । मरासिनीका अनुसार गाउँमा विद्युत् विस्तार भएपछि गाउँले निकै उत्साहित भएका छन् ।
सत्यवती, बल्ढेङ्गढी र जुठापौवामा विद्युत् विस्तार गर्ने कार्यअन्तर्गत दु्रतगतिमा काम भएको सांसद नेपालले बताए ।
विधुत् विस्तारका लागि अहिलेसम्म रु एक करोड ५० लाख खर्च भएको छ । अहिलेसम्म सत्यवती र जुठापौवामा विधुत् विस्तार भएको विधुत् प्राधिकरण जिल्ला प्रमुख कपिलराज पाण्डेयले बताए । बल्ढेङ्गढीमा विस्तारको काम भइरहेको उनले बताए ।
सत्यवतीमा क्षेत्र नं ३ का सांसद नेपालले विधुत् विस्तारको शुभारम्भ गर्दै दुर्गमलाई प्राथमिकतामा पारेर निर्वाचन क्षेत्र विकास कोषको रकम सदुपयोग गरेको बताए ।
गाउँ पुगेका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले जनतासँगको हातेमालोमा सांसद र विधुत् प्राधिकरणको सक्रियताले अँध्यारोमा बस्न बाध्य जनतालाई उज्यालो प्रदान भएको बताए ।
विद्यार्थीलाई पढ्न, गृहिणीलाई घरको काम गर्न, मोबाइल चार्ज गर्न, आम जनतालाई उज्यालोमा बस्न मात्र होइन विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न पनि सहज भएको गाविस सचिव कृष्णप्रसाद श्रेष्ठले बताए । रासस