काठमाडौं, ३१ असार – प्रधानमन्त्री केपी ओलीले कांग्रेस र माओवादी केन्द्र विदेशी शक्तिको ‘गोटी’ बनेको आरोप लगाएका छन् । एमाले संसदीय दलको बिहीबारको बैठकमा एक घन्टा १० मिनेट लामो सम्बोधन गर्दै ओलीले दुई पार्टी विदेशी शक्तिको गोटी बनेको आरोप लगाएका हुन् ।
दुवै पार्टी विदेशी गोटीमा मुलुकमा अस्थिरता मच्चाउँदै संविधान कार्यान्वयन असहज बनाउने षड्यन्त्रमा सामेल भएको उनको अरोप छ । बैठकले संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव एकढिक्काका साथ सामना गर्दै अघि बढ्ने निर्णय गरेको सचेतक गोकुल घर्तीले जानकारी दिए ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै प्रस्तावमा ०७४ माघसम्म नेतृत्व परिवर्तन नहुने गरी गठबन्धन बनेको खुलासा गरे । सरकारको नेतृत्व परिवर्तन नगर्ने सर्तमा आठ मन्त्रालय ‘गठबन्धन मात्रै होइन, नेतृत्व पनि परिवर्तन नगर्ने उनकै प्रस्तावअनुसार त्यतिवेला (गत असोजमा) माओवादीलाई उपराष्ट्रपति, सभामुखदेखि एमालेले पाँच मन्त्रालय राखेर महत्वपूर्ण आठ मन्त्रालय दिएका थियौँ,’ ओलीले भने, ‘तर, माओवादी त बर्केनो गाईको बाच्छोजस्तो रहेछ, दूध नआए पनि जुनसुकै वेला छ्वास्स, छ्वास्स हानिरहने ।’
उनले नेतृत्व परिवर्तनका लागि माओवादीले पटक–पटक बार्गेनिङ गरेको स्मरण गर्दै तीनबुँदे भद्र सहमति पनि नभएको स्पष्ट पारे । ‘बार्गेनिङ नछाडेपछि समय र परिस्थिति आएपछि विचार गर्न सकिन्छ भन्ने कुरा मात्रै भएको थियो, त्यस्तो कुनै भद्र सहमति थिएन,’ उनको भनाइ थियो ।
प्रकाशित मिति: ३१ असार २०७३, शुक्रबार ०७:०२