सुर्खेत, ३० असार ।
प्रदेश राजधानीका लागि पूर्वाधार विकास तयार हुँदै गरेको सुर्खेतको वीरेन्द्रनगर बजारमा अब सडक बत्तीका लागि विधुत्को भर पर्ने अवस्थाको अन्त्य भएको छ । निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत सांसद हृदयराम थानीले बजेट छुट्याएपछि वैकल्पिक उर्जा प्रर्वदन केन्द्र, जिल्ला विकास समिति र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा सोलार जडान गरिएको हो ।
मंगलगढीचाैकमा रहेको साेलार बत्ती
वैकल्पिक उर्जा प्रर्वदन केन्द्र, निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको निर्वाचन क्षेत्र विशेष कार्यक्रम, जिल्ला विकास समिति र वीरेन्द्रनगर नगरपालिकाको लगानीमा वीरेन्द्रनगर बजारमा सोलार बत्ती जडान गरिएको छ । जिल्लाको वीरेन्द्रनगर बजारमा मंगलगढीचोक देखि गणेशचोकसम्म सोलार बत्ती जडान कार्य अन्तिम चरणमा पुगेको छ ।
सोलार बत्ती जडानका लागि सनसाइन इनर्जी प्रा.लि. सामाखुशीले बैशाख २० गत्ते गरेको सम्झौता अनुसार वीरेन्द्रनगर बजारमा सोलार जडान गर्ने कार्य भइरहेको जिल्ला विकास समिति अन्तर्गतको वातावरण उर्जा तथा जलवायु परिवर्तन अधिकृत विश्व विवेक पाण्डेले जानकारी दिए ।
वीरेन्द्रनगर बजारमा सोलार जडान कार्य गत असार ८ गत्ते बाट सुरु गरिएको थियो । वीरेन्द्रनगर बजारमा ७८ वटा सोलार जडान गरिनु पर्नेमा अहिलेसम्म ६१ वटा पोल गाडेर सोलार जडान गरिएको र बाँकी काम छिट्टै पुरा हुने अधिकृत पाण्डेले जानकारी दिए ।
उनका अनुसार वीरेन्द्रनगर बजारबासीले सबै पोलमा सोलार बल्नको लागि अझै केही दिन कुर्नुपर्ने छ । उनले मंगलगढीचोक देखि गणेश चोकसम्म पोल गाड्ने काम भइरहेको र केही पोलहरुमा सोलार जडान वाल्ने काम भएको जनाएका छन् ।
सोलार जडानको कार्य तिव्र गतिले भइरहेको हुदाँ मौसमले साथ दिए अनुसार साउनको पहिलो हप्तामा नै सबै ठाउँमा सोलार जडान गर्ने कार्य सम्पन्न हुने जिल्ला विकास समितिका वातावरण उर्जा तथा जलवायु परिवर्तन अधिकृत विश्व विवेक पाण्डेले जानकारी दिए ।
वीरेन्द्रनगर बजारमा सोलार जडानका लागि वैकल्पिक उर्जा प्रर्वदन केन्द्रले ४० लाख, निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्रको विशेष कार्यक्रमबाट २० लाख, जिल्ला विकास समितिबाट १० लाख र वीरेन्द्रनगर नगरपालिकाले १० लाख रुपैयाँ गरी ८० लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: ३० असार २०७३, बिहीबार १८:३५