प्रतिघर १५ हजारका दरले ऋण दिइएको सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङका अध्यक्ष प्रेम लामिछानेले बताए । बहुसरोकारवाला वन कार्यक्रमको जीविकोपार्जन सुधार योजना महासङ्घ र धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रले ‘लिवर्ड’ नामक संस्था मार्फत सञ्चालन गरेका हुन् । किसानलाई उद्यम विकासतर्फ अग्रसर बनाउन जीविकोपार्जन सुधार योजना सञ्चालन गरिएको हो ।
बाख्रा, कुखुरा, बङ्गुर, भैँसी, मौरीपालन, तरकारी खेतीलगायतका क्षेत्रमा उपभोक्तालाई ऋण सहयोग गरिएको महासङ्घका अध्यक्ष लामिछानेले जानकारी दिए । महासङ्घ र केन्द्रमार्फत चार÷चार वटा इलाका वन क्षेत्रका ५०/५० सामुदायिक वन उपभोक्ता समूहभित्रका किसानलाई ऋण लगानी गरिएको छ । महासङ्घले रु एक करोड ७२ लाख ८० हजार र केन्द्रले रु एक करोड ३५ लाख लगानी गरेका छन् ।
महासङ्घले योजना सञ्चालन गरेको क्षेत्रका उपभोक्ता समूहले थप रु ३७ लाख ८० हजार आन्तरिक स्रोतबाट लगानी गरेका हुन् । “पाँच प्रतिशतमा किसानलाई ऋण सहायता दिएका छौँ, प्रत्येक दुई वर्षमा रकम उपभोक्ता समूहमा फिर्ता गर्नुपर्ने प्रावधान छ”, अध्यक्ष लामिछानेले भने – “उक्त रकम घुम्ती कोषका रुपमा उपभोक्ता समूहमा रहन्छ, वर्षेनी आलोपालो गरी किसानलाई लगानी गर्छौं ।”
महासङ्घले कुश्मीसेरा, बागलुङ, दोविल्ला र हटिया इलाका वन र केन्द्रले हुग्दीशिर, खरवाङ, बुर्तिवाङ र बोङ्गादोभान इलाका वन क्षेत्रमा जीविकोपार्जन सुधार योजना सञ्चालन गरेका छन् । योजना सञ्चालन भएपछि किसान व्यावसायिक बन्न थालेका छन् । बहुसरोकारवाला वन कार्यक्रम नरहे पनि वन उपभोक्ता समूहले सो योजनालाई निरन्तरता दिने केन्द्रका कार्यक्रम अधिकृत हरिचन छन्त्यालले बताए।
सोही योजनाबाट रु १५ हजार ऋण लिएर मौरीपालनलाई विस्तार गर्नुभएका दगातुम्डाँडा–८ राक्सेका दुर्गा अर्यालले मह बेचेर यो वर्ष रु एक लाख आम्दानी भएको बताउनुभयो । उनले अहिले २७ वटा घारमा मौरीपालन गर्दै आएका छन् । “किसानलाई यो योजनाले उत्साहित बनाएको छ, न्यून ब्याजदरमा ऋण पाइने भएपछि गाउँमा जीविकोपार्जनका गतिविधि बढेका छन्” – अर्यालले भने ।
‘लिवर्ड’ का जिल्ला संयोजक वसन्ती परियारले किसानको जीवनस्तरमा सुधार ल्याउन उपभोक्ता समूहलाई अनुदान सहयोग गरिएको बताए । “वन उपभोक्ता समूहभित्रका किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न यो योजना सञ्चालन गरिएको हो” – संयोजक परियारले भने । रासस