केन्द्रीय तथ्याङ्क विभागले बुधबार देखि काठमाडौँ, भक्तपुर र ललितपुरका घरको सर्वेक्षणका लागि इन्जिनियरलाई तालिम दिन सुरु गरेको हो । २०० इन्जिनियरको ललितपुर र २५० को काठमाडौँमा १२ समूहमा विभाजन गरी तालिम सुरु भएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।
“साउन २ गतेसम्म इन्जिनियरको तालिम हुन्छ, २ र ३ गते तीनवटै जिल्लाका ४५० सामाजिक परिचालकलाई पनि तालिम दिइनेछ, ४ गतेदेखि उपत्यकाका भूकम्प प्रभावित सबै क्षेत्रमा सर्वेक्षण सुरु गरिनेछ, भदौ मसान्तसम्म लगत सङ्कलन सकी प्रतिवेदन तयार पार्ने समय निर्धारण गरेका छौँ”– उनले भने ।
लगत सङ्कलनलाई सहयोग पुर्याउन उपत्यकाका तीनै जिल्लामा जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालय खोलिएको छ । उपत्यकाका सम्बन्धित नगरपालिका वा गाविसले भूकम्प प्रभावित भनी सूची तयार पारेर प्रमाणित गरी पठाएका घरमा मात्र ‘भेरीफिकेसन मोडल’ मा सर्वेक्षण गरिने विभागले जनाएको छ ।
विभागले यसअघि नै भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोट गरी ११ जिल्लाको सर्वेक्षण सकी प्रतिवेदन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई हस्तान्तरण गरेको छ । रासस