गौशाला, २९ असार । तराई मधेसमा छ महिनासम्म चलेको आन्दोलनको क्रममा महोत्तरी जिल्लामा ज्यान गुमाएका सबैका परिवारले सरकारद्वारा पठाइएको राहत रकम पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार मधेस आन्दोलन क्रममा गत भदौ २३ र २५ गते महोत्तरीमा छ जना मारिएका थिए भने तीमध्ये पाँच जनाका परिवारले सरकारद्वारा पठाइएको राहतबापतको रु १० लाख बुझेका छन् ।
प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवका अनुसार सबैभन्दा पहिले मृतक हात्तीलेट गाविस–८ का रामशीला देवीका पति शम्भु मण्डलले चैत १ गते नै राहतबापतको रु १० लाखको चेक लगेका थिए । त्यसलगत्तै चैत १७ गते जलेश्वर नगरपालिका–७ का मृतक गणेश चौधरीका दुईजना छोरा विजय चौधरी र विनय चौधरीले राहतको चेक बुझेका थिए ।
त्यस्तै, सोही दिन जलेश्वर–७ कै मृतक रोहन चौधरीका बुबा विनय चौधरीले पनि रु १० लाख राहतको चेक बुझी लगेका थिए ।
यसैक्रममा पिगौना गाविस–६ का मृतक वीरेन्द्र विच्छाकी श्रीमती सिम्पीकुमारी साहले यही जेठ २७ गतेका दिन रु १० लाखको राहतको चेक जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट पाएकी प्रजिअ यादवले बताए ।
त्यस्तै, यही असार ५ गतेका दिन जलेश्वर नगरपालिका–१४ का मृतक मुसवा भन्ने अमित कापरकी पत्नी मनतोरिया देवीले पनि राहत रकमबापत रु १० लाखको चेक पाएको जिल्ला प्रशासन कार्यालयको लेखा शाखाले जनाएको छ ।
महोत्तरीमा मारिएका छ जनामध्ये राहतको चेक लिन बा“की महोत्तरी गाविस–५ का रामविवेक यादवको परिवारसँग पटकपटक सम्पर्कको प्रयास गरिए पनि सम्पर्क हुन नसकेको तर उनको पैसा आइसकेको र दिने तयारी अवस्थामा रहेको तथा १/२ दिनमा उनको परिवारलाई पनि राहत रकम उपलब्ध गराइसक्ने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।