काठमाडौँ, २९ असार । आगामी साउन १ गतेदेखि सुरु गर्न लागिएको काठमाडौँ महानगरपालिकाको सेवा विधुतीय प्रणाली मार्फत विस्तार गर्ने कामको तयारी अन्तिम चरणमा पुगेको छ ।
कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार नगरवासीलाई पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कामपाले उक्त प्रणालीको सेवा विस्तार गर्न लागेको हो ।
महानगरको सेवालाई कागजरहित, प्रविधिमा आधारित भएर प्रदान गर्न र नागरिकका घरघरमा सेवा विस्तार गर्न विधुतीय प्रणालीमार्फत विस्तार गर्न लागिएको प्रवक्ता कार्कीको भनाइ छ ।
एसियाली विकास बैंक र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको लगानीमा हुन लागेको उक्त कामका लागि झन्डै रु चार करोड लाग्ने अनुमान गरिएको छ । सबै वडा कार्यालयबाट नागरिकले उक्त सेवा प्राप्त गर्न सक्नेछन् । सेवा विस्तारका लागि कामपाले १९० वटा कम्प्युटर तयार पारिसकेको छ ।
विधुतीय सेवाअन्तर्गत नक्सा पास गर्ने, कर दिने–लिने, बक्यौता रकमका बारेमा जानकारी, करको शीर्षक, कामपाको काम कारबाही, नागरिकको गुनासोे तथा नीतिनियमबारे सम्पूर्ण जानकारी प्राप्त गर्न इन्टरनेटमार्फत घरघरबाटै नागरिक र कामपाबीच सिधा सम्पर्क हुनेछ ।
त्यसैगरी, बजेट अनुगमन तथा योजना प्रणाली, वित्तीय प्रणाली, राजस्व व्यवस्थापन, कर्मचारीको सूचना आदानप्रदान, जनशक्ति व्यवस्थापन, नागरिक इन्टरफेस प्रणालीलगायत सबै काम यसैमार्फत हुने बताइएको छ ।
यसका लागि कामपाले ३५ वटै वडाका नागरिकको तथ्याङ्क कम्युटरमा राख्ने काम पनि गरिरहेको छ । रासस