सुर्खेत, २८ असार ।
सरकारले सुर्खेतका बाढीपीडितको व्यवस्थापन नगर्दा उनीहरुका बालबालिकका पठनपाठनबाट बञ्चित भएका छन् । विद्यालय जाने बालबालिकाहरुलाई उनीहरुले कमाइकाज गर्नका लागि मजदुरी गर्न पठाउने गरेका छन् । जमिन जग्गा बाढीले बगाएपछि आफुहरु त्रिपालमा बस्न समस्या भएको र छोराछोरीलाई समेत विद्यालय पठाउन नसकिएको पीडित मैसरा थापाले बताइन ।
बाढीपीडित मैसराले विहान बेलुका हातमुख जोर्न समस्या हुने भएकाले छोराछोरीको किताव कापी तथा विद्यालय पोशाक जोहो गर्न नसकिने भएकाले विद्यालय नपठाएको बताइन् । आफ्ना छोराछोरीलाई पढाउने इच्छा मात्रै भएर हुँदो रहेनछ, विद्यालय जाने बातावरण तथा आर्थिक हुनु पर्दो रहेछ उनले भनिन् ।
पैसा नभएर छोराछोरीलाई स्कुल छुटाउनु परेको दुख्ख दर्शाउँदै मैसरा भन्छिन् ‘खाने खर्च जुटाउन छोरालाई विद्यालय होइन भारत कमाउन पठाएको छु ।’ कमाइकाज गर्ला भनेर भारत पठाएको छोराले दुख पाएर वसेको फोनमा बताउने गरेको उनले बताइन ।
सुर्खेतको महिला प्रशिक्षण केन्द्रमा विस्थापित जीवन विताइरहेका ३२ घरपरिवारका अभिभावकहरुको यस्तै गुनासा पोकाहरु वोकेर वसेका छन् । पीडित सितला शाहीले अहिलेसम्म ज्यूत्यु गरी विद्यालय पठाए पनि बाढीपीडितको सरकारले व्यवस्थापन नगरे विद्यालय छुटाउनुको विकल्प नरहने बताइन ।
बाढीपीडित शिविरमा रहेका त्रिपालहरु च्यातिएका छन् । वर्षाको झरीलाई त्रिपालले रोक्न नसक्ने भएकाले आफुहरु बालबालिका जोगाउन लाग्ने तर बालबालिका भने आफ्ना पाठ्य पुस्तक जोगाउन लाग्ने गरेको उनीहरुले बताए ।
पीडितहरुले पाउने रकमका बारेमा स्थानीय प्रशासनमा बुझ्न जाँदा आफुहरुलाई अपहेलना गर्ने र गिजाएर फिर्ता गर्ने गरेको पीडित कमला दमाईले बताइन । उनले भनिन्, ‘प्रशासनका मानिसहरु हाम्रो पालमा आएर एक दिन वसे त्रिपालमुनिको वास्तविक जीवन थाहा पाउथे होला ।’
दुई वर्ष अघि साउन २९ गते आएको बाडिपहिरोले सर्वस्व गुमाएका पीडितहरुलाई सरकारले आँखामा छारो हाल्न ५० हजार उपलब्ध गराएको छ । तैपनि सरकारले उपलब्ध गराएको रकम कसैले बुझेका छन्भने कसैले सरकारले आफै व्यवस्था गरिनुपर्ने भन्दै रकम बुझेका छैनन् ।
बाढीपीडितका लागि यो वर्ष आउने पर्ने बजेट नआएकाले व्यवस्थापन गर्न कठिनाइ भएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
सरकारको ध्यान भुकम्प पीडित तथा पुनर्निर्माण तिर केन्द्रीत हुँदा बाढीपीडित उपेक्षित त भएका होइनन् भन्ने पीडितहरुले गुनासो गर्न थालेका छन् ।
प्रकाशित मिति: २८ असार २०७३, मंगलवार १७:१७