जाजरकोट, २८ असार ।
सानो झुप्रो । त्यही पनि पानी चुहिने । त्यही झुप्रोमा बस्छन्, ५ जनाको परिवार । घर भित्र न त खानाको जोहो छ न आनन्दसँग सुत्ने ओछ्यान् नै । ज्याला मजदुरी गरेर अन्न ल्याएका दिन मात्रै चुल्हो बल्छ नत्र भोकै सुत्नु पर्छ, जाजरकोट ढिमे २ मालुमेलाकी रुपा विश्वकर्माको परिवारलाई ।
१५ बर्षको उमेरमा डोल्पा ल्हा का बुद्धिबहादुर नेपालीसँग रुपाको विहे भयो । ३ छोरी १ छोरा जन्मिए । दुःख सुख गरेरै भएपनि परिवार जेनतेन चलिरहेको थियो । विवाह भएको सात बर्षमै पतिको मृत्यु भयो । मृत्यु पछि घरपरिवारको आर्थिक अवस्था पनि निकै नाजुक भएका कारण छाक टार्न पनि समस्या भएपछि रुपा चारजना लालावाला लिएर माईतीघर जाजरकोट ढिमे आईन तर यहाँ पनि उनलाई गास र वासको समस्याले छोडेन । माईतीको अवस्था पनि उस्तै जग्गा जमिनको नाममा एक टुक्रो पाखोवारी मात्र ।
दैनिक ज्याला मजदुरी गरेर खाने । तै पनि छोरीलाई वस्ने ओत दिए माईतीले, उनले भनिन्, ‘न त हातमा सीप छ न काम गरौ भने खेतवारी नै छ । म कसरी यी केटाकेटी पालौं रुपाले दुःख प्रकट गदै भनिन यी केटाकेटीको पढाई खर्च कहाँबाट जुटाउँ ।’
रुपाले भनिन्, ‘म त साह्रै समस्यामा परे । पढ्ने उमेरमा सानैमा विहे गरियो । विहे गर्ने उमेरमा विधवा हुनु प¥यो अझ साथमा रहेका चार जना छोराछोरीको लालनपालन र पढाइ लेखाइ कसरी गरुँ ?’ उनको जेठी छोरी पार्वती ९ बर्ष, माईली छोरी चन्द्रा ८ बर्ष , कान्छि छोरी रेखा ४ बर्ष र छोरा अनिल ३ बर्षका भए ।
उनले भनिन्, ‘गाँउमा काम गरे वापत अन्न दिन्छन्, कसैले पैसा दिन्छन त्यसैवाट गुजारा चलाईरहेकी छु ।’ रुपमा भर्खर २५ बर्षको पुगेको छ भने उनको पति वितेको ३ बर्ष भो । कसैले आफुलाई सीपमुलक तालिम र छोराछोरीलाई पढाउने ब्यवस्था मिलाईदिएको भए ठूलो राहत हुने उनले बताइन् । मिठोमसिनो खाने, राम्रा कपडा लगाउने त हाम्रा लागि सपना भए दुई छाक गास र एक सरो शरीर ढाक्ने टालोको लागि संघर्ष गरिरहनु परेको रुपाले दुःख सुनाइन् ।
प्रकाशित मिति: २८ असार २०७३, मंगलवार १६:५०