फैजाबाद (अफगानिस्तान), २८ असार । अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानमा सोमबार भएको विस्फोटमा परी कम्तीमा पनि दश जनाको ज्यान गएको समाचार छ ।
उक्त क्षेत्रमा बिहानै सर्वसाधारणलाई लक्ष्यगरी गराइएको बम विस्फोटनमा परी कम्तीमा दश व्यक्तिको मृत्यु हुनुको साथै अन्य १७ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समयाअनुसार सोमबार बिहान ९ः३० मा भएको यस विस्फोटनमा परी दशजनाको मृत्यु हुनुको साथै अन्य १७ जना घाइते भएका प्रारम्भिक समाचारमा जनाइएको प्रान्तीय गभर्नर नविद फ्रोउतानले बताएका छन् ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । यो विस्फोट शक्तिशाली भएको हुनाले यसमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
अफगानिस्तानमा यसपछि पनि अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान अर्को विस्फोट भएको बताइएको छ । त्यस घटनाको सम्पूर्ण विवरण भने आउन सकेको छैन ।
तालिवानका स्थानीय नेतासहित चारको मृत्यु
यसैबीच अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा तालिवान विरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा तालिवानका एक स्थानीय नेताको मृत्यु भएको छ ।
अफगान गृह मन्त्रालयले मङ्गलबार सो जानकारी दिएको छ ।
अफगानको राष्ट्रिय प्रहरी (एएनपी)को एक समूहले अफगानिस्तानको गजनी प्रान्तमा गरेको कारबाहीका क्रममा तालिवान नेता मुल्लाह अब्दुल सोकोर उनका तीन सहयोगी मारिएका गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रहरीको कारबाहीमा मारिएका ती तालिवान नेता गजनी प्रान्तको अब्बाद जिल्लाको तालिवान समूहको न्यायाधीशको रुपमा कार्यरत रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानको गजनी प्रान्तमा भएका कैयौँ निर्दोष व्यक्तिको हत्यामा हात रहेको बताइएको छ । त्यसैगरी अफगान सुरक्षाबललाई लक्ष्यगरी भएका कैयौँ आतङ्ककारी र एम्बुस आक्रमणमा प्रत्यक्ष रुपमा सोकोरको हात रहेको प्रहरीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
तालिवान आतङककारी समूहले गत अप्रिलबाट अफगान सुुरक्षाबललाई लक्ष्यगरी भीषण आक्रमण गर्ने घोषणा गर्दै आएका थिए ।
त्यसैगरी सुरक्षाबल र सर्वसाधारणलाई लक्षित यस तालिवान आक्रमणहरुमा कैयौँ निर्दोष व्यक्तिको मृत्यु भएको छ । प्रहरीले पनि तालिवानविरुद्ध गर्दै आएको कारबाहीमा ठूलो सफलता पाएको प्रहरीको दाबी रहेको छ । रासस/सिन्ह्वा