रुकुम, २८ असार । महिलाले केही गर्न सक्दैनन् भन्ने कुरालाई चिर्दै यहाँका महिला जुटेर जोखिमपूर्ण तरिकाले तटबन्ध निर्माण तथा खानेपानी मुहान संरक्षण गरेका छन् ।
ग्रामीण भेगका महिला यतिबेला रोपाइँसँगै अन्य विकास निर्माणका जोखिमपूर्ण काममा तम्सिएका हुन् । केही वर्ष पहिला घेत्मा–७ मा खानेपानीको निकै समस्या थियो । त्यहाँका महिलाले एक दुई घन्टाको बाटो हिँडेर खानेपानी ल्याउनु पथ्र्यो । एक दुई घन्टाको बाटो हिँडेर ल्याइएको पानीले नुहाउन, कपडा धुन, भाँडा माझ्न र गाईबस्तुलाई खुवाउन निकै समस्या हुने गरेको थियो ।
कहिलेकाहीँ कामको चाप बढी भएका बेला उनीहरु भेरी नदीको पानी लिएर खाने गर्थे । यसले गर्दा बेलाबेलामा विभिन्नखाले रोग तथा महामारी फैलने गरेको थियो । गाग्री थापेर अबेरसम्म लाइन लाग्नु पर्दा समयको त खर्च हुन्थ्यो नै राति पानी भर्न जाँदा महिलालाई समस्या हुने गरेको थियो ।
खानेपानीको समस्याबाट ग्रसित भएर घेत्मा–७ का महिला एकजुट भए । उनीहरुले अहिले घेत्मा–७ मा रहेको खानेपानीको मुहानलाई संरक्षण गरेर धारा निर्माण गरेका छन् । खानेपानीका तीन धाराबाट उनीहरुले प्रत्येक घरमा पाइप जोडेर खानेपानी पुर्याएका छन् ।
घर घरमा पानी पुग्दा विशेष गरेर महिलाको समय र श्रमको बचत हुनाका साथै दैनिकीमा पनि सहजता आएको पानीको मुहान संरक्षण उपभोक्ता समितिका अध्यक्ष अमृता पुनले बताइन् । नौ सदस्य रहेको खानेपानीको मुहान संरक्षण समितिमा पाँच जना महिला छन् ।
स्थानीय महिलाको पहलमा जिविस, जलवायु परिवर्तन सहयोेग कार्यक्रमको रु दुई लाख सहयोग र रु ३९ हजार ९९१ जनश्रमदान गरी सो आयोजना सञ्चालन गरिएको हो ।
यस्तै पुर्तिमकाँडा गाविस–७ चाइनाबगरका महिला पनि जलवायु परिवर्तन अनुकूलनमा जुटेका छन् । त्यहाँक महिलाले सानीभेरी नदीको छेउमा रहेको खेतमा जलवायु परिवर्तन सहयोेग कार्यक्रमको रु दुई लाख सहयोग तथा रु ५२ हजार ७६० जनश्रमदान गरी २३ मि लामो पक्की पर्खाल निर्माण गरेका छन् । रासस
प्रकाशित मिति: २८ असार २०७३, मंगलवार १४:३३