जाजरकोट, २७ असार । आदर्श उच्च माध्यमिक विद्यालय लुहादह मजकोटमा–९ कक्षामा अध्ययनरत कालिका शाहीले अहिलेसम्म किताब पाउन सकेकी छैनन् । उनले शिक्षा, अर्थशास्त्र, नेपाली, अङ्ग्रेजी लगायतका किताब अहिलेसम्म नपाएको बताएकी छन् ।
उनी मात्र होइन त्यस विद्यालयका अधिकांश विदयार्थीले पूरै सेट किताब पाउन नसकेको सो विद्यालयका शिक्षक सुरेन्द्र सिंहले बताए । पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएका दशेराको थलहस्थित पुस्तक पसलमा किताब लिन जाँदा किताब नभएपछि विद्यार्थीहरु रित्तै फर्किने गरेको शिक्षक सिंहको भनाइ छ ।
शैक्षिक सत्र सुरु भएको तीन महिना बित्न लाग्दा पनि जाजरकोटका सबै विद्यार्थीको हातमा पुस्तक पुग्न सकेका छैनन् । जनक शिक्षा सामग्री केन्द्रले समयमा पाठ्यपुस्तक नछाप्दा पुस्तक अभाव भएको हो । जिल्लाका पश्चिमी भेगका पजारु, गर्खाकोट, सुवानाउली, मजकोट, कोर्ताङ्ग, दह लगायतका गाउँ विकास समितिमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । निम्नमाध्यमिक र माध्यमिक तहमा पाठ्यपुस्तक अभाव भएको हो ।
दोभान स्टेशनरी थलहका प्रोपराईटर दीपक गिरीले जनक शिक्षा केन्द्रको नेपालगन्जस्थित कार्यालयमा किताब लिन जाँदा नपाएको बताए । सुरुमै जानेले किताब पाए पनि ढिला गरी किताब लिन जाने पुस्तक पसलहरुले किताब नपाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लाको पूर्वी भेगका स्टेशनरी पसलले पहिलो चरणमै किताब खरीद गरेका कारण त्यस भेगमा समस्या नभए पनि पश्चिमी भेगका पसललेले ढिलाई गरेको र छापिएका किताब सकिएपछि समस्या देखिएको हो । अहिले किताब छापिएको भए पनि ल्याउन ढिलाइ गरेकोले विद्यार्थीले किताब नपाएका हुन् ।
जिल्लाका करीब ६० हजार विद्यार्थी मध्य अझै ५ प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । जिल्लाका पश्चिमी भेगमा पाठ्यपुस्तकको समस्या देखिएको बताए । उनले पु¥याउन सम्बन्धितलाई ताकेता गरिएकोले केही दिनमै पुस्तक सबै विद्यार्थीले पाउने बताए ।
प्रकाशित मिति: २७ असार २०७३, सोमबार ०७:५१