काठमाडौं, २६ असार । युरोकप फुटबलको उपाधिका लागि फ्रान्स र पोर्चुगल भिड्दैछन् । नेपाली समय अनुसार मध्यरातमा फ्रान्सको पेरिसमा हुने खेल दुबै टोलीका लागि सहज हुनेछैन । घरेलु टोली फ्रान्स आफ्नै भूमिमा तेस्रो पटक उपाधि जित्ने अभियानमा छ ।
सन् १९८४ मा आफ्नै भूमिमा युरोकप जितेको फ्रान्सले सन् १९९८ मा घरेलु समर्थको माझ विश्वकप फुटबलको उपाधि उचालेको थियो । यतिवेला फ्रान्स फेरी एकपटक घरेलु मैदान र समर्थकमाझ युरोकपको उपाधि उचाल्ने अभियानमा छ । तर फ्रान्सको यात्रामा पोर्चुगलले बाधा पुर्याउन सक्छ । पोर्चुगल कुनैपनि मूख्य फुटबल प्रतियोगिताको पहिलो उपाधि जित्ने अभियानमा छ । आफ्नै राष्ट्रमा सन् २००४ मा आयोजित युरोकपको फाईनलमा ग्रिससँग १–० ले हारेको पोर्चुगल यसपटक पहिलो उपाधिका लागि संघर्ष गर्दैछ ।
सेमिफाईनलमा वेल्सलाई २–० ले हराउदै पोर्चुगलले फाईनलमा स्थान सुरक्षित गरेको हो । फ्रान्सले समुह चरणमा रोमानिया र अल्बानियालाई हराएको थियो भने स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो । आजको खेलमा पोर्चुगलका लागि क्रिश्चियानो रोनाल्डो, नानी र रेनाटो सान्चेजको खेल महत्वपूर्ण मानिएको छ भने फ्रान्सका लागि डिमित्री पायट, पउल पोग्बा र एन्टोनियो ग्रेजम्यानको खेल हेर्न लायक मानिएको छ । जारी युरोकप फुटवल प्रतियोगितामा भने बदलाको सिलसिला नै चलेको छ । युरोकपको नक आउट चरणको खेलबाटै प्रतियोगितामा टोलीहरूबीच बदलाको सिलसिला सुरु भएको हो । प्रतियोगिताको सातौं प्रिक्वार्टरफाइनल खेलमा इटालीले साबिक विजेता स्पेनविरुद्ध बदला लियो । इटाली स्पेनलाई २–० ले पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्यो ।
युरोकपअन्तर्गत सन् २०१२ को संस्करणको फाइनलमा स्पेनसँग ४–० गोलले पराजित भएको इटाली सन् २००८ को संस्करणको क्वार्टरफाइनलमै स्पेनसँग टाइब्रेकरमा पराजित भएको थियो । इटालीका लागि स्पेनविरुद्धको यस पटकको जित २२ वर्षपछिकै पहिलो हो । सन् १९९४ को विश्वकपपछि इटालीले स्पेनलाई पराजित गर्न सकेको थिएन । स्पेन लगातार तेस्रो पटक युरोकप जित्ने योजनामा थियो । तर प्रतियोगिताको क्वार्टरफाइनल चरणमा इटाली पनि पराजित हुन पुग्यो । यस पटक बदला लिने पालो थियो जर्मनीको । जर्मनीले इटालीलाई सडन डेथमा ६–५ गोलले हरायो । युरोकप तथा विश्वकपमा जर्मनीले इटालीलाई हराएको यो पहिलो अवसर थियो । तर जर्मनीको त्यो खुसी लामो समय टिकेन ।
प्रतियोगिताको सेमिफाइनलमा जर्मनीसग फ्रान्सले बदला लिँदै उपाधि होडबाटै बाहिर पठाएको छ । शुक्रबार बिहान भएको खेलमा आयोजक फ्रान्सले जर्मनीलाई २–० ले पराजित गर्दै फाइनलमा पुगेको छ । यस अघि जर्मनीले फ्रान्सलाई युरोकप र विश्वकपमा गरी नौ पटक उपाधि होडबाट बाहिर पठाएको छ । त्यसमध्ये ६ पटक त जर्मनीले फ्रान्सलाई युरोकप र विश्वकपको सेमिफाइनलमै पराजित गरेको थियो । आइतबार हुने फाइनल खेलमा फ्रान्सले पोर्चुगलसँग प्रतिस्पर्धा गर्दैछ । पोर्चुगलले पछिल्लो १० अन्तर्राष्ट्रिय खेलमा फ्रान्सलाई पराजित गर्न सकेको छैन ।
प्रकाशित मिति: २६ असार २०७३, आईतवार ०८:३२