जिल्ला विकास समिति कैलालीमा शनिबार आयोजित आर्थिक वर्ष ०७२/७३ को वार्षिक समीक्षा बैठकमा सरोकारवालाहरुले केही कमीकमजोरीका बाबजुत कार्यक्रमबाट जलवायु अनुकूलनका कार्यक्रमहरु सन्तोषजनक देखिएको बताए ।
बजेट ढिलो गरी निकासा हुँदा खेती गर्नुपर्ने समयमा कुलो, नहर, पुलेसा तटबन्धजस्ता अनुकूलनका संरचना निर्माण गर्नुपर्ने देखिँदा बजेट समयमै निकासा गर्ने व्यवस्था गर्नुपर्ने, विभिन्न योजनामा बजेट छरिएर जाँदा त्यो सोचेजति सफल हुन नसक्ने भएकाले थोरै योजनाको छनोट गरी ती योजनामा ठूलो बजेटको व्यवस्था हुन सकेमा अनुकूलनका कार्यक्रम प्रभावकारी हुन सक्ने उहाँहरुले सुझाव दिए ।
स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीको अध्यक्षतामा बसेको बैठकमा नेपाल जलवायु अनुकूलन कार्यक्रम (लापा)का जिल्ला संयोजक सन्तोष खनालले लापाका क्रियाकलापमाथि प्रकाश पारेका थिए ।
चालु आवमा लापा कार्यक्रम कार्यान्वयनका लागि करिब रु आठ करोड ७६ लाख बजेट रहेकामा हालसम्म ५३ प्रतिशत बजेट मात्रै खर्च हुन सकेको खनालले जानकारी दिए ।
जिल्लाको धनसिंपुर, नारायणपुर, पवेरा, साबिक लालबोझी, भजनी, गाविसलगायत सात गाविस र टीकापुर नगरमा लागू गरिएको यो कार्यक्रमअन्तर्गत जलवायु अनुकूलनका विभिन्न क्रियाकलाप भइरहेका छन् ।
यसअन्तर्गत जलवायुको असरबाट जोखिममा पर्न सक्ने बस्तीमा उच्च भवन, शौचालय, धारा, नदी तथा खोलामा तटबन्धलगायतका संरचना निर्माणका साथै खाद्य सुरक्षा, वन तथा जैविक विविधताको संरक्षण र अन्य चेतनामूलकसम्बन्धी क्रियाकलाप गर्ने गरिएको छ ।
रासस