धनगढी, २५ असार । समय परिवर्तनसँगै कैलाली जिल्लामा बसोवास गर्ने लोपोन्मुख राजी समुदायको परम्परागत पेसामा परिवर्तन आउन थालेको छ ।
मह काढ्ने, माछा मार्ने र नदीमा डुङ्गा तारने परम्परागत पेसाबाट हुने आम्दानीबाट जीविकोपार्जन गर्दै आएका राजी समुदायहरु समय परिवर्तनसँगै यति बेला कृषि पेसा र अन्य सीपमूलक पेसा तर्फ आकर्षित हुन थालेका छन् ।
‘पहिलेको जस्तो जमाना अब रहेन, कैलाली टिकापुर नगरपालिकाका चित्रबहादुर राजीले भने – युग फेरिएसँगै आएको चेतनाको फलस्वरुप आफूहरुको पेसा पनि फेरिन थालेको छ ।’
परपम्परागत पेसाले मात्रै सहज रुपमा जीविका चलाउन कठिनाइ भएकोले राम्रो आयआर्जन हुने पेसातर्फ उन्मुख भएको यी राजीहरुले बताएका छन् ।
पछिल्लो पटक कैलाली जिल्लामा लागू भएको जलवायु अनुकूलन कार्यक्रम (लापा)ले गरिरहेको जलवायु अनुकूलनका गतिविधिसँगै यी समुदायमा परम्परागत पेसा छाडेर नयाँ र युग सुहाउँदो पेसा अगाल्न मद्दत पुगेको देखिएको छ ।
लापा कार्यक्रम कार्यान्वयनसँगै लक्षित समुदायको चेतनास्तर अभिवृद्धि भएको देखिएकाले समुदायस्तरमा समुदायले रोजेका अनुकूलनका कार्यक्रम ल्याउनुपर्ने माग यी राजीहरुको छ ।
लापा अन्तर्गत राजी समुदायका व्यक्तिलाई लक्षित गरी गरिएको मौरीपालन र तरकारीखेती सम्बन्धी सीपमूलक तालिमबाट आफूहरु लाभान्वित भएको चित्रबहादुरले बताए ।
राजीहरु व्यावसायिक तरकारी खेतीका साथै साइकल मरमत, सिलाइकटाइ जस्ता राम्रो आम्दानी हुने व्यवसाय गर्न थालेको पाइएको लापा कार्यक्रमको अनुगमन गरेका जिल्ला पशुसेवा कार्यालय कैलालीका अधिकृत मीनबहादुर थापाले बताए ।
टिकापुर नगरपालिका—९ राजीपुरमा मात्रै झन्डै २० परिवार राजी समुदायका रहेकोमा जिल्लाभरी करिब ४०० परिवार रहेको जनाइएको छ ।
कैलाली, कञ्चनपुर, सुर्खेत, बर्दिया, बाँके र दाङ जिल्लामा गरी राजीहरुको जनसङ्ख्या चार हजार ६३६ रहेको बताइएको छ ।
रासस