काठमाडौ २५ असार – शिक्षा ऐन आठौं संशोधनमा अस्थायी शिक्षकलाई सुविधा दिएर बिदाइ गर्ने व्यवस्था कार्यान्वयन गर्न शिक्षा विभागले देशभर कार्यरत अस्थायी शिक्षकको विवरण संकलन सुरु गरेको छ । २०७२ असोज २ सम्म नियुक्ति पाएका अस्थायी शिक्षकलाई स्थायीका लागि प्रतिस्पर्धा गर्ने वा सुविधा लिएर बाहिरिने विकल्पको व्यवस्था ऐनमा गरिएको छ । तर सरकारसँग अस्थायी शिक्षक कति छन् भन्ने यकिन तथ्यांक छैन । कान्तिपुर दैनिकमा खबर छ ।
विभागले पाँच वटै क्षेत्रीय कार्यालयलाई यो तथ्यांक साउन १५ भित्र पठाउन निर्देशन दिएको छ । ‘एक पटकका लागि रिक्त दरबन्दीमा अस्थायी शिक्षकमात्र उम्मेदवार हुन पाउने गरी शिक्षक सेवा आयोगले विज्ञापन गर्ने भएकाले नाम नामेसी र नियुक्ति मिति स्पष्ट खुलाई साउन १५ भित्र पठाउन हुन निर्देशनअनुसार अनुरोध छ,’ विभागले क्षेत्रीय शिक्षा निर्देशनालयलाई लेखेको पत्रमा उल्लेख छ ।
क्षेत्रले विद्यालय, शिक्षकको नाम, अस्थायी/लियन पदमा नियुक्तिको मिति तथा तह खुलाएर पठाउनुपर्ने हुन्छ । ऐनमा २०४९ पुस २० भन्दा अघि, ०४९ पुस २१ देखि ०६१ साउन २१ सम्म नियुक्ति पाएका र ०६१ साउन २२ देखि ०७२ असोज २ सम्म नियुक्ति पाउनेका लागि फरकफरक व्यवस्था गरिएकाले कुन शिक्षकले कहिले नियुक्ति पाएका हुन् भन्ने विवरण संकलन गर्न लागिएको हो । यो तथ्यांकले आयोगले विज्ञापन खुलाउने शिक्षकको संख्या यकिन हुने र बिदा हुने शिक्षक कति हुन्छन् भन्ने यकिन गरेर बजेट व्यवस्थापन गर्न सहज हुने विभागले जनाएको छ ।
अस्थायी शिक्षकलाई अन्तिम एकपटकका लागि रिक्त दरबन्दीमा उम्मेदवार हुन पाउने गरी एक वर्षभित्र छुट्टाछुट्टै विज्ञापन गर्ने व्यवस्था ऐनमा छ । यो व्यवस्थाअनुसार २०७४ असारसम्म अस्थायी शिक्षकको व्यवस्थापन गरिसक्नुपर्ने हुन्छ ।
०४९ पुस २० भन्दाअघि र ०४९ पुस २१ देखि ०६१ साउन २१ सम्म नियुक्ति लिएका शिक्षकले आन्तरिक प्रतिस्पर्धा गर्न सक्छन् । त्यस्तै ०६१ देखि ०६३ को दरबन्दीमा कार्यरतले आन्तरिक र खुला दुवैमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
सुविधा लिई अवकाश हुन चाहने अस्थायी शिक्षकले स्थायी प्रतिस्पर्धाको दरखास्त दिने अन्तिम दिनअघि नै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । सुविधा नलिई प्रतिस्पर्धामा उत्रने शिक्षक उत्तीर्ण हुन नसके स्वतः अवकाश भएको मानिने व्यवस्था गरिएको छ । प्रतिस्पर्धामा जान नचाहने शिक्षकलाई अधिकतम सेवा अवधि मानेर सुविधा दिने व्यवस्था छ ।
५ देखि १० वर्षसम्म सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षको आधा महिना बराबरको तलब, १० देखि १५ वर्षसम्म सेवा गरेकालाई प्रत्येक वर्षको १ महिनाको तलब, १५ वर्षभन्दा बढी सेवा गर्ने शिक्षकले काम गरेको प्रत्येक वर्षको डेढ महिनाको तलब बराबरको रकम पाउने छन् । यसअनुसार ३० वर्ष काम गरे पनि २० वर्षलाई आधार मानेर ३० महिनाको तलब पाउने छन् ।
प्रकाशित मिति: २५ असार २०७३, शनिबार ०७:३५