म्याग्दी, २३ असार । जिल्लाका साना तथा घरेलु उद्यमीले आधुनिक औजारको प्रयोग गरी सामान उत्पादन गर्न थालेका छन् ।
प्रविधि र औजारको प्रयोग गर्दा काम गर्न सहज हुनुका साथै समयको बचत र उत्पादन लागत घटेको उद्यमीले बताएका छन् । हाते कागज, सिलाइ, बुनाइ, अल्लो प्रशोधन, ढाका बुनाइलगायत व्यवसायमा आधुनिक उपकरणको प्रयोग हुन थालेको हो ।
काँटाको सहायताले हातले सात दिनमा एउटा स्विटर बुन्ने रुमका उद्यमी अहिले एकै दिनमा एक जनाले सात वटासम्म स्विटर बुन्न थालेका छन् । हातले बुन्दा रु दुई हजार ५०० मूल्य पर्ने स्विटर मेसिनले बनाउँदा आकार अनुसार रु ४५० देखि रु ८०० सम्ममा बिक्री हुन थालेको सुरक्षा लघुउद्यमी समूहकी अध्यक्ष एसीका रोका बताउँछन् ।
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयद्वारा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत सङ्गम म्याग्दीमार्फत ४५ दिने मेसिनले स्विटर बुन्ने तालिम लिएका रुमका १४ जना उद्यमीले व्यक्तिगत रुपमा रु ७६ हजार लगानीमा स्विटर बुन्ने मेसिन खरिद गरेका थिए । जिल्लाका विभिन्न ठाउँका सयौँ महिलाले स्थानीय सीप, स्रोत र साधनमा आधारित उद्यम व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
सीपमूलक क्रियाकलापमा संलग्न भएपछि दुई चार सय रुपैयाँ आवश्यक पर्दा अरुको मुख ताक्नुपर्ने अवस्थाबाट छुटकारा पाएको रुममा स्विटर बुन्ने व्यवसाय गर्दै आउनुभएकी प्रेमकुमारी पुनको भनाइ छ । घरेलु तथा साना उद्योग विकास समिति, लघुउद्यमी समूह सङ्घ, गैरसरकारी संस्था सङ्गम म्याग्दीले जिल्लामा खेर गइरहेका प्राकृतिक स्रोत साधनलाई स्थानीय सीपको परिचालन गरी उपयोगमा ल्याउने र आयआर्जन वृद्धि गर्ने उद्देश्यले विभिन्न क्रियाकलाप गर्दै आएका छन् ।
सीपमूलक तालिम, क्षमता अभिवृद्धि, मेसिन तथा औजार खरिदमा अनुदान र निःशुल्क वितरणको व्यवस्था गरेपछि घरेलु तथा साना उद्योग बढेका छन् । परम्परागत सीप र प्रविधिमा आधारित घरेलु तथा साना उद्योगलाई आधुनिकीकरण गर्नसके उद्यमीको समयको बचत, उत्पादन लागत घट्ने, सजिलो हुने र आयातित बस्तुभन्दा सस्तो पर्न गई उपभोक्तालाई फाइदा पुग्ने सङ्गम म्याग्दीका कार्यक्रम संयोजक रामचन्द्र सुवेदी बताउँछन् । रासस