काठमाडौँ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले शुभकामना सन्देशमा यस पर्वले हामी सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, भ्रातृत्व, सद्भाव, सहिष्णुता र एकताका लागि प्रेरणा प्रदान गरोस् भनी शुभेच्छा व्यक्त गरेका छन् । विभिन्न धर्म, संस्कृति, वेषभूषा, रहनसहन र पहिचानको विविधताले हाम्रो मुलुक सुसज्जित रहेको र यहाँका हरेक जातजातिका आ–आफ्नै मौलिक संस्कृति र पहिचान रहेको प्रधानमन्त्री कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हामी नेपालीले सदियौँदेखि एकअर्का समुदायका धर्मसंस्कृति र परम्पराको सम्मान गर्दै आएका र इतिहासदेखि कायम रहँदै आएको हामीबीचको सद्भावयुक्त संस्कृतिको निरन्तरता आवश्यक रहेको सन्देशमा उल्लेख गरिएको छ ।
अन्त्यमा, सम्पूर्ण नेपालीबीचको एकता, हार्दिकता र धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावका लागि यस पर्वका अवसरमा फेरि एकपटक मुस्लिम समुदायमा बधाइ तथा शुभकामना व्यक्त गर्दछु भनी विज्ञप्तिमा भनिएको छ ।
रासस
प्रकाशित मिति: २३ असार २०७३, बिहीबार ०८:३८