काठमाडौं, २३ असार- नेपाल र भारतबीच व्यापार सन्धि स्वतः नवीकरण हुने भएको छ । सन्धिको समय सात वर्ष थप्ने निष्कर्षमा दुवै देशका पदाधिकारी पुगेका छन् ।
११ कात्तिकमा सन्धिको म्याद सकिँदै छ । नेपाल–भारत वाणिज्य सचिवस्तरीय इन्टरगभर्मेन्टल कमिटी (आइजिसी) बैठकमा दुवै पक्ष सन्धि स्वतः नवीकरणको पक्षमा पुगेका हुन् । भारतको नयाँ दिल्लीमा १५ असारमा बसेको आइजिसी बैठकमा दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीहरूले सन्धि स्वतः नवीकरणको सहमति गरेका हुन् । बैठकमा नेपालबाट वाणिज्यसचिव ङइन्द्र उपाध्याय र भारतबाट वाणिज्यसचिव रिता टेओटियाले नेतृत्व गरेका थिए । ‘नेपाल–भारत व्यापार सन्धि नवीकरण गर्नेमा भारतीय अधिकारीहरूसँग हाम्रो सहमति भएको छ । अन्य कुनै आकस्मिकता आएनन् भने सन्धि स्वतः नवीकरण हुनेछ,’ वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैँजूले नयाँ पत्रिकासँग भने, ‘भारत र हाम्रोबीचमा एकखालको समझदारी नै भएको छ ।
भारतीय पक्ष सकारात्मक छन् ।’ सन्धिको दफा १२ को उपदफा २ मा कुनै देशले तीन महिनाअघिसम्म लिखित प्रस्ताव नगरे सन्धि स्वतः नवीकरण हुने उल्लेख छ । नवीकरणपछि २७ अक्टोबर ०२३ सम्म व्यापार सन्धि रहनेछ । प्रजातन्त्र पुनस्र्थापनासँगै ६ डिसेम्बर १९९१ मा नेपाल र भारतबीच व्यापार सन्धि भएको थियो । सन्धिमा तत्कालीन वाणिज्यमन्त्री गोपालमान श्रेष्ठ र भारतका तत्कालीन वाणिज्य राज्यमन्त्री पी चिदम्बरमले हस्ताक्षर गरेका थिए । पछिल्लोपटक सन्धि २७ अक्टोबर २००९ मा नवीकरण भएको थियो ।
नवीकरण गरिएको सन्धिमा नेपालका तर्फबाट तत्कालीन वाणिज्यमन्त्री राजेन्द्र महतो र भारतबाट तत्कालीन वाणिज्यमन्त्री आनन्द शर्माले हस्ताक्षर गरेका थिए । सन्धि सच्याउनुपर्ने पक्षमा रहे पनि राजनीतिक सम्बन्धमा सुदृढ नभइसकेका वेला नवीकरण गर्ने विकल्प नै नेपालको हितमा हुने सम्बद्ध अधिकारीहरूको निष्कर्ष छ । त्यही आधारमा नेपाली पक्षले स्वतः नवीकरणका विषयमा छलफल गर्दा भारतीय पक्षले सहमति जनाएका छन् ।
‘हाम्रा विषयहरू पछि छलफल गर्दै जाउँला, तर अहिले स्वतः नवीकरण गरौँ भन्नेमा पुगेका छौँ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘अब स्वतः नवीकरण हुनेमा हामी विश्वस्त छौँ ।’ नयाँ संविधान जारी भएसँगै भारतले लगाएको अघोषित नाकाबन्दीपछि व्यापार सन्धि के होला भन्ने आशंका थियो । ‘नाकाबन्दीपछि के होला भन्ने अन्योल थियो, सम्भवतः त्यो तनाब अब रहनेछैन,’ परराष्ट्रका अधिकारीले भने ।
व्यापार सन्धिअनुसार नेपाल र भारतबीच २७ व्यापारिक रुट कार्यान्वयनमा छन् । सन् १९९७ मा दुई देशबीच फूलबारी नाका नेपालले प्रयोग गर्न पाउने विषयमा सहमति भएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति: २३ असार २०७३, बिहीबार ०६:४१