काठमाडौं, २२ असार- अनुगमनमा गएको सरकारी टोलीमाथि बल्खु तरकारी बजारका व्यापारीले मंगलबार हातपात गरेका छन् । डिजिटल तराजु नवीकरण नगरेको, प्रमाणित नगरेको र कम तौल दिएर उपभोक्ता ठगेको भन्दै कर्मचारीले तराजु जफत गरेपछि हातपात गरेका हुन् ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
व्यापारीले बन्दा, काँक्रो, मूलालगायतका तरकारीले आक्रमणसमेत गरेका थिए । व्यापारीको घेराबन्दीमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निरीक्षक रामचन्द्र काफ्ले र गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका निरीक्षक कमल ओझा परेका थिए । काफ्लेलाई व्यापारीले हात छोडेका थिए भने ओझालाई ताकेर तरकारीले झटारो हानेका थिए । सँगै गएका दुई प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि थप बल मगाइएको थियो । यसरी भयो घटना बिहान साढे १० बजे अनुगमन टोली बल्खुस्थित थोक तरकारी बजार पुगेको थियो ।
थोक बजार चार वर्षअघि सञ्चालनमा आएको हो भने करिब एक वर्षदेखि खुद्रा विक्रीका लागि नयाँ स्टल सञ्चालनमा छन् । पुरानो स्टल निरीक्षणका क्रममा चित्तबुझ्दो सफाइ देखेपछि कर्मचारी फर्कने थालेका थिए । फर्कंनै लाग्दा गुणस्तर विभागका निरीक्षक कमल ओझाले डिजिटल तराजुमा गढबढी देखिएको भन्दै अनुगमन टोलीका सबै सदस्यलाई जानकारी गराएपछि व्यापारीसँग सोधिखोजी भएको थियो ।
तराजुको पछाडि निर्माता कम्पनीको स्टिकर नदेखेपछि तराजु प्रमाणित भए–नभएको र नवीकरण गरे–नगरेको कागजात ल्याउन अनुगमन टोलीले व्यापारीलाई निर्देशन दिएका थिए । तराजुको प्रमाणित कागजात नभए जफत गरी लैजाने र नापतौल प्रमाणित गरी पठाइदिने ओझाले बताए । सो क्रममा आपूर्ति विभागका निरीक्षक रामचन्द्र काफ्ले एउटा स्टलमा स्टिकर नभएको तराजु फेला पारे ।
स्टलबारे जानकारी माग्दा कसैले नबताएपछि तराजु जफत भयो । अर्को त्यस्तै तराजु जफत गर्न लाग्दा एक व्यापारीले नलैजान आग्रह गरे । तर, ओझाले प्रमाणित नगरी चलाएको तराजु छाड्न नमिल्ने बताए । व्यपारीले जवाफ फर्काए, ‘तराजु लाने नै भए तरकारीको रिस्क पनि लिइदिनुप¥यो ।’ सोही क्रममा कपाल पालेका एक व्यापारी आएर प्रतिकार गर्न निर्देशन दिए । त्यसपछि एक दर्जन व्यापारीले हल्ला गर्दै बन्दा, मुलालगायतले कर्मचारीलाई झटारो हानेका थिए । कर्मचारी स्लटबाहिर पष्ुगेपछि व्यापारीले घेरेर हातपात गरेका थिए । करिब १० मिनेट कर्मचारीलाई घेरेर गाली गर्दै जफत गरिएका तराजु फिर्ता लगेका थिए ।
व्यापारीले माफी मागे प्रहरीले भीड नियन्त्रण गरेपछि तरकारी बजार समितिका सदस्य कुमार बस्नेतको नेतृत्वमा व्यापारी र कर्मचारीको वार्ता भयो । वार्तामा तरकारीले झटारो हान्ने र हातपात गर्ने व्यापारीले माफी मागे । उनीहरूले भने, ‘हामीले आक्रोशमा आएर गरेको गल्तीको माफी पाऊँ । र, तपाईंहरूले दुई–तीन दिनको समय दिएर स्टलमै आएर तराजु परीक्षण गरिदिए हुन्छ ।’ तर, गुणस्तर विभागका निरीक्षक कमल ओझाले भने, ‘अब विभागमा व्यापारी आफैँले तराजु लिएर आउनुस् । हामी परीक्षण गरिदिन्छौँ ।’
४७ तराजु जफत वार्तापछि स्टिकर नलागेका सबै तराजु जफत गरियो । ४७ तराजु जफत गरी बजारको माथिल्लो तलामा रहेको गोदाममा राखिएको छ । गुणस्तर विभागका निरीक्षक कमल ओझाले भने,‘ती तराजुको नापतौल परीक्षण गरेर मात्रै प्रयोगमा ल्याउने सहमति भएको छ ।’ तरकारी बजारमा मन्त्रीको दुई घन्टा आपूर्तिमन्त्री गणेशमान पुन मंगलबार बिहान तरकारी तथा फलफूल बजारहरूको अनुगमनमा निस्किए । मंगलबार बिहान ८ः३५ मा कालिमाटी फलफूल तथा तरकारी बजार पुगेका मन्त्री पुनले सुरुमा बाली संरक्षण निर्देशनालयले कालिमाटी भित्रने तरकारीको विषादी परीक्षण ल्याब अवलोकन गरे ।
ल्याबमा परीक्षण गर्दा तरकारीमा विषादी नदेखिने कर्मचारीले जानकारी दिए । पुनले ल्याबको भौतिक अवस्था सुधार्न निर्देशन दिए । ल्याबपछि मन्त्री थोक बजारमा पुगे । भुइँमा असरल्ल तरकारी देखेपछि उनले सरसफाइ गर्न निर्देशन दिए, ‘यसरी तरकारी भुइँमा फाल्नुभएन ।
प्रकाशित मिति: २२ असार २०७३, बुधबार ०७:२६