काठमाडौ २१ असार- श्रम तथा रोजगार मन्त्रालयले घर बिदामा फर्केका र पूर्वश्रमस्वीकृति लिएका नेपाली कामदारले आफ्नै जिम्मेवारीमा अफगानिस्तान जान पाउने निर्णय गरेको छ । आइतबार श्रम मन्त्रालयको सचिवस्तरबाट आफ्नै जोखिममा अफगानिस्तान जान पाइने निर्णय गरेको हो ।
श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले घर बिदा वा पूर्वश्रमस्वीकृति लिएका नेपाली कामदारले आफ्नै जिम्मेवारीमा अफगानिस्तान जान खुला गरेको बताए । असार ९ गतेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तान, लिबिया र सिरियामा कामदार पठाउन प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । कारोबार दैनिकमा खबर छ ।
“असार ९ गते मन्त्रिपरिषद्को निर्णयविपरीत नहुने गरी कामदार आफ्नै जोखिममा अर्थात् स्ट्रिक्ट एड्भाइजरी ट्राभलका आधारमा जानुपर्नेछ,” उनले थपे, “तर, नयाँ श्रमस्वीकृति भने दिइने छैन ।” दुई साताअघि अफगानिस्तानमा भएको बम विस्फोटमा १३ नेपालीको मृत्यु र ६ जना नेपाली घाइते भएपछि त्यहाँ जान सरकारले प्रतिबन्ध लगाएको थियो । “केही नेपालीले लामो समयसम्म अफगानिस्तानमा काम गरेका छन्,” प्रवक्ता भुर्तेलले भने, “उनीहरूले रोजगारदाता कम्पनीबाट केही सञ्चयकोष जस्तो रकम पाउँछन्, त्यो रकम लिन जानका लागि खुला गरिएको हो ।”
रोजगारदाताले सो रकम नपठाउने भएकाले कामदार जान पाइने व्यवस्था गरिएको उनको भनाइ छ । उनका अनुसार अफगानिस्तानमा पारिश्रमिक बढी पाइने भएकाले नेपाली कामदारले रोजगारदाता कम्पनीबाट बढी रकम पाउने गर्छ । अफगानिस्तानमा कुनै जोखिम भए सरकार जिम्मेवार नरहने भएको छ ।
यसअघि अफगानिस्तान काम गर्न जान आंशिक खुला थियो । अफगानिस्तानमा कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघको अंगमा सुरक्षा गार्डका रूपमा जान पाइने थियो । तर, यहाँ अवैधानिक रूपमा पनि अन्य अफगानिस्तानको कम्पनीमा पनि काम गर्न गइरहेको अनुमान छ । वैदेशिक रोजगार विभागका अनुसार ९ हजार ४ सय ७२ कामदार श्रमस्वीकृति लिएर अफगानिस्तान पुगेका छन् ।
वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले अफगानिस्तानमा ग्रिन क्षेत्रमा कामदार गए पनि बसोबास गर्ने स्थानमा सुरक्षा नरहेको बताए । “बसोबास गर्ने स्थानदेखि काम गर्ने कम्पनीसँग सुरक्षाको व्यवस्था छैन,” उनले भने, “यस्तो अवस्थामा कामदार पठाउनु दुर्भाग्य हो ।”
प्रकाशित मिति: २१ असार २०७३, मंगलवार ०७:१८