काठमाडौं, २० असार – टर्कीको इस्तानबुल विमानस्थलमा गत साता र बंगलादेशको ढाकामा शुक्रबार भएको आतंककारी हमलापछि काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सतर्कता पनि बढाइएको छ । चक्रपथको मुख्य सडकदेखि नै तालिमप्राप्त कुकुरमार्फत प्रहरीले नियमित चेकजाँच थालेको छ । ‘गोल्डेनगेटदेखि नै सुरक्षामा कडाइ गरेका छौ,’ विमानस्थलका डिआइजी गोविन्द निरौलाले भने, ‘यात्रुको चेकिङमा पनि प्रहरी सक्रियता बढेको छ ।’नयाँ पत्रिका दैनिकमा खबर छ ।
सुरक्षा बलियो बनाउनुपर्ने दबाब
‘पछिल्लो समय दक्षिण एसियामा आतंकवादी हमलाका घटना बढ्दै जाादा नेपाललाई आफ्नो सुरक्षा बलियो बनाउनुपर्ने थप दबाब भएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘विमानस्थल र सीमामा सुरक्षा बलियो नबनाए कुनै दिन ठूलो दुर्घटना नहोला भन्न सकिन्न ।’
अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूले नेपालीलाई टार्गेट नगरे पनि नेपालमा रहेका विदेशीलाई टार्गेट गर्न सक्ने चेतवानी पटक–पटक सुरक्षा निकायले गृह मन्त्रालयलाई दिएको स्रोत बताउाछ ।
तर, आगमन र कार्गाेमा कमजोरी
विदेशबाट आउने यात्रु र कार्गाेमा चेकजाँच गर्ने अधिकार प्रहरीलाई छैन । यसकै कारण लागुऔषध तथा नक्कली नोट सजिलै नेपाल भित्रने गरेको प्रहरीको भनाइ छ । एक महिनाअघि एक चिनियाँ नागरिक करिब ८० हजार अमेरिकन डलर लिएर नेपाल आउादा विमानस्थलमा पक्राउ परेनन् ।
उनीमाथि कुनै चेकजाँच नै भएन । तर, पछि चीन फर्किने क्रममा उनी पक्राउ परेका थिए । गत महिना ३५ हजार नक्कली भारुसहित पाकिस्तानी युवती पक्राउ पर्दा पनि विमानस्थलका भन्सार अधिकारीले पत्तो पाएनन् । पछि सुराकीका आधारमा प्रहरीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको थियो ।
लागुऔषध बोकेर नेपाल आउँदा विदेशीहरू पक्राउ नपर्ने, तर फर्कने क्रममा मात्र विमानस्थलमा पक्राउ पर्ने गरेका छन् । यसले सुरक्षा चुनौती थपेको प्रहरी अधिकारीहरू बताउाछन् । विदेशबाट आएका नागरिक र सामानमाथि भन्सारले मात्र चेकजाँच गर्छ । शंका लागेमा मात्र प्रहरीले खानतलासी लिन सक्छ । भन्सारले राजस्वलाई मात्र ध्यान दिएर चेकजाँच गर्ने गरेकाले विदेशबाट अवैध वस्तु ल्याउनेहरू सहजै उम्केको प्रहरी अधिकारीहरूको दाबी छ ।
‘एयरपोर्टको सबैभन्दा ठूलो थ्रेट नै यही हो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘विदेशबाट फर्किएकालाई पनि भन्सार र प्रहरीले संयुक्त रूपमा चेकजाँच गर्नुपर्छ ।’
छैन आधुनिक एक्सरे
विकसित देशमा सामान्यत: विमानस्थलमा चार तहको सुुरक्षा जाँच हुन्छ । विस्फोटक पदार्थ, लागुऔषध, मुद्रालगायत अवैध सामान चेकिङ गर्ने छुट्टाछुट्टै एक्सरे मेसिन हुन्छन् । तर, नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा एउटै एक्सरे मेसिनले चेकजाँच हुन्छ । पर्याप्त स्रोत–साधन नहुँदा विमानस्थलको सुरक्षामा राम्रो काम गर्न नसकिएको प्रहरी अधिकारीहरूको भनाइ छ ।
‘आधुनिक प्रविधि नहुँदा प्रहरीले झोला खोलेरै चेक गर्नुपर्ने अवस्था छ,’ डिआइजी गोविन्द निरौला भन्छन्, ‘प्रविधिमा हामी पछि छौ ।’
टिकट नै नकाटी बोर्डिङ पास लिएर रनवेसम्म ?
टिकट नै नकाटी बोर्डिङ पास लिएर बिहीबार तीन युवक अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसम्म पुगेका छन् । यसले विमानस्थलको सुरक्षा अवस्थालाई प्रस्ट पारेको छ । काभ्रेका आशिष वाइबा, दिलीप चौलागाईं र सुवास चौलागाईं नक्कली बोर्डिङ पासका आधारमा सिम्रिक एयरलाइन्सको हेलिकोप्टरसम्म पुगेका थिए ।
सिम्रिककै कर्मचारी रवीन्द्र अधिकारीले उनीहरूलाई बोर्डिङ पास बनाइदिएको प्रहरीले जनाएको छ । तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ भने सिम्रिकका कर्मचारी अधिकारीलाई निलम्बन गरिएको छ । निजी एयरलाइन्सका कर्मचारीको लापरबाहीले सो घटना भएकाले छानबिन चलिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले बताए ।
‘गम्भीर लापरबाही गर्ने एयरलाइन्सका कर्मचारीलाई एयरपोर्टबाट हटाइसकेका छौा,’ महाप्रबन्धक उपाध्यायले भने, ‘छानिबन समितिले विस्तृत रिपोर्ट दिएपछि थप कारबाही हुनेछ ।’ सुरक्षा दृष्टिले सो घटना ठूलो गल्ती भएको उपाध्याय स्विकार्छन् । एयरलाइन्सको आफ्नै कामका लागि भनेर तीन युवालाई लगिएको अधिकारीले बताएका थिए । यात्रुबाहेक अन्यलाई बोर्डिङ पास दिन मिल्दैन । कामका लागि एयरलाइन्सले कर्मचारीलाई भित्र पठाउन छुट्टै पास बनाउनुपर्ने हुन्छ ।
नक्कली पासपोर्ट चिन्दैनन् कर्मचारी
दक्ष कर्मचारी र आधुनिक प्रविधि नहुँदा पटक–पटक अध्यागमन चुक्ने गरेको छ । विमानस्थलमा पासपोर्ट र भिसाको गहन अनुसन्धान नभएको आरोप लाग्ने गरेको छ । नक्कली पासपोर्ट बोकेर आउने विदेशी सामान्य धरौटीमा नै छुट्ने गरेका छन् । अध्यागमनका कर्मचारीले नक्कली पासपोर्ट र भिसासमेत पहिचान गर्न नसकेका घटना दोहोरिरहेका छन् । अन्य देशमा पुगेर फर्काइएपछि मात्र उनीहरूले नक्कली पासपोर्ट भएको थाहा पाउने गरेका छन् ।
प्रकाशित मिति: २० असार २०७३, सोमबार ०६:४६