जाजरकोट, १९ असार ।
उमेर नपुग्दै विवाह गर्नेको संख्या बढ्दै गएपछि जाजरकोटका बालबालिकाहरु बालविवाह रोक्ने अभियानमा जुट्ने भएका छन् । जिल्ला बाल कल्याण समितिको आयोजनामा सदरमुकाम खलंगामा भएको जिल्ला बाल भेलामा सहभागि बालबालिका नै बालविवाह रोक्न अभियान थाल्ने निश्कर्षमा पुगेका हुन् ।
जाजरकोटका ६५ प्रतिशत बालबालिका उमेर नपुग्दै विवाह गर्ने गरेको र बालविवाहका कारण उत्पन्न हुने शारिरिक, मानसिक तथा सामाजिक समस्या बारे जानकारी पाएपछि बालविवाह रोक्न अभियान नै थाल्ने भएका हुन् ।
बालबालिका सम्बन्धि ५ वर्षे रणनीति बनाइएको र सोही रणनीतिका आधारमा जिल्लाको प्रमुख समस्याको रुपमा रहेको बालविवाह न्यूनिकरणका लागि सवै सरोकारवालाको सहयोगमा अभियान थालिने जिल्ला बाल कल्याण समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । उनले बालबालिकाको बालविवाह रोक्ने अभियानमा सरकारी निकायको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नवनिर्वाचित बाल सञ्चालकी जिल्ला अध्यक्ष जानुका शाहीले बालविवाह रोक्न अभियान अन्र्तगत विद्यालयमा गठित बाल क्लव मार्फत चेतनामुलक कार्यक्रम संचालन गर्ने जानकारी दिइन् । उनले उमेर नपुग्दै गरिने विवाहका कारण बालिकाको स्वास्थ्यमा गंभिर असर पर्ने, पठनपाठनमा बाधा पुग्ने, बालविवाहकै कारण बहुविवाह, सम्बन्ध विच्छेद हुने लगायतका समस्या देखिने भएकोले बालविवाह रोक्न अभियान नै थाल्ने बताइन् ।
आगामी ३ वर्ष भित्र जिल्लालाई बालविवाह मुक्त बनाउने कार्ययोजना बनाएर अघि बढ्ने सञ्जालकी अध्यक्ष शाहीको भनाई छ । उले भनिन्, ‘सरहरुलाई साथमा लिएर विद्यालय मार्फत नै बालविहे रोक्ने अभियान थाल्छौ ।’ उनले यो अभियानमा सवै सरकोकारवालाले सहयोग गर्नु बताइन् ।
महिला तथा बालबालिका, शिक्षा, स्वास्थ्य, गाँउ विकास समितिहरु, जिल्ला विकास समिति नगरपालिका लगायतले बालविवाह रोक्न स्कुले विद्यार्थी मार्फत अभियान थाल्ने प्रतिवद्धता जनाएका छन् ।
२०६८ सालको जनगणना अनुसार जाजरकोटमा १९ वर्ष मुनिका ६५ प्रतिशत बालबालिकाले विवाह गर्ने गरेका छन् । बालविवाह गर्नेमा किशोरको तुलनामा किशोरीको संख्या उच्च रहेको छ ।
५ वर्षको अवधिमा बालविवाह घट्नुको साटो बढ्दै गएको महिला तथा बालबालिका कार्यालयको अनुमान छ । ‘एकिन तथ्यांक नभएपनि जिल्लाका विभिन्न क्षेत्रकोे अध्ययनबाट ९५ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेको देखिन्छ ।’ महिला विकास अधिकृत प्रज्ञादेवी निरौलाले भनिन् । उनले रामीडाँडा स्थित कालिका आदर्श माविमा अध्ययनरत ४२ जोडीले उमेर नपुग्दै विवाह गरेको जानकारी दिइन् ।
जाजरकोटमा १३–१४ वर्षकै उमेरमा ६–७ कक्षामा पढ्दा पढ्दै विवाह गर्ने संस्कारकै रुपमा चलन नै बसिसकेको महिला विकास अधिकृत निरौला बताउँछिन् । मोवाईलको बढ्दो दुरुपयोग गरिवी, चेतनाको अभाव, देखासिखी, कमजोर पढाई आदि कारणले भागी विवाह गर्ने र त्यसैलाई अभिभावकले समेत साथ र समर्थन गर्ने कारणले जिल्लामा बालविवाह गर्नेको संख्या बढ्दै गएको उनको निश्कर्ष छ । २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई कानुनले समेत रोक लगाएको छ ।
प्रकाशित मिति: १९ असार २०७३, आईतवार १८:२३