अर्घाखाँची, १९ असार । जिल्लालाई बीउबिजनमा आत्मनिर्भर बनाउन ४८ सहकारी र समूहले बीउ उत्पादन गरिरहेका छन् ।
जिल्लाको सन्धिखर्क नगरपालिकासहितका विभिन्न गाविसका ४८ कृषि सहकारी र समूहले सिमी, बोडी, मकै, गहँु, केराउ, मूला र धानलगायतका बीउ उत्पादन कार्य अगाडि बढाएका छन् । उन्नत बीउ उत्पादनमा एक वर्षभित्र जिल्ला आत्मनिर्भर हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलले बताए ।
“गाउँमा उत्पादित बीउ बिक्री गर्न तथा प्राविधिक उपलब्ध गराउन सहयोग गर्छु,” उनले भने । उन्नत बीउबिजन परियोजना (केयुविके)ले कृषि समूह र सहकारीसँग समन्वय गरी मकै, धान, बोडी, सिमीलगायतका बीउ उत्पादन गर्न सहयोग गरिरहेको छ । परियोजनाले कृषकलाई मागका आधारमा भौतिक तथा प्राविधिक सहयोग गर्दैआएको उक्त परियोजनाका जिल्ला संयोजक मुक्ति पौडेल बताउँछन् ।
सहकारी र समूहले साढे चार क्विन्टल चौमासे सिमी, ४० टन उन्नत जातको मनकामना तीन मकै, २५० किलो मिनो अर्ली मूला, ७०० किलो केराउ, ११ टन गहँुको बीउ उत्पादन गरिसकेका छन् । उत्पादन भएको बीउ बिक्री वितरणका लागि उद्योग वाणिज्य सङ्घले बजारको व्यवस्था गरेको सङ्घका जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।
रासस
प्रकाशित मिति: १९ असार २०७३, आईतवार १४:२२