मेलम्ची, १९ असार ।
सिन्धुपाल्चोक जिल्लाको मुख्य केन्द्र रहेको मेलम्ची बजारबाट तिपेनी जोड्ने सडकखण्डको खाल्डेखोलादेखि नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड इन्द्रावती तेस्रो जलविद्युत् आयोजनासम्मको विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
गतसातादेखि पहिरो गएको र सो ठाउँमा लगातार साँझ बिहान पर्ने अत्यधिक वर्षाका कारणले थप पहिरो गएपछि मेलम्ची–भोताङ सडक अवरुद्ध भएको हो ।
नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड इन्द्रावती तेस्रो जलविद्युत् आयोजना नजिक गएको पहिरोका कारण यातायात बन्द हुँदा तिपेनी बजार र सो क्षेत्रका आधा दर्जन गाविसका स्थानीयवासीलाई प्रत्यक्ष असर परेको छ भने खाल्डेखोला नजिकको पहिरोका कारण लागर्चे गाविसका स्थानीयवासी चिन्तित छन् ।
पहिरोका कारण सडक सञ्चालन नहुँदा दैनिक उपभोग्य सामान लिनका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता रहेको गुन्साका स्थानीयवासी काले गोलेले बताए । कतिपय खोलामा पुल नहुँदा असारको समयमा बाढीका कारण सवारी साधन तर्न सक्दैनन् ।
भूकम्पले अति प्रभावित बनाएको र भूकम्पका कारण चिराचिरा परेको र थलिएको जमिनमा वर्षाका कारण कतिबेला पहिरो जाने निश्चित छैन । साना साना पहिरोले गर्दा पैदल हिँड्नसमेत नसकिने भएकाले वैकल्पिक बाटो खोज्नुपर्ने भएको स्थानीयवासी बताउँछन् ।
जिल्लाभर पहिरोको जोखिम बढेको भूकम्पपछि जिल्लाभरको जमिन थलिएको छ, कतिबेला पहिरो जान्छ पत्तो हुँदैन । भूकम्पले तीन मिटर भासिएको लिस्तीकोट गाविस भने उच्च जोखिमा रहेको छ ।
भूकम्पले धाँजा फाटेको र वर्षाको समयमा धाँजा फाटेको ठाउँबाट पानी छिर्ने हँुदा जोखिम बढेको स्थानीयवासी स्याङ्बु शेर्पाले बताए ।
रासस
प्रकाशित मिति: १९ असार २०७३, आईतवार ०७:५८