लहान, १८ असार । बलान नदी नियन्त्रणका लागि बाँध निर्माण भएपछि सिरहाको लहान नगरपालिका–१७ तरेगना गोविन्दपुरस्थित करिब एक हजारभन्दा बढी घर परिवार बसोबास रहेको बस्ती डुबान र कटानको चपेटाबाट सुरक्षित भएका छन् ।
सिरहा र सप्तरीको सीमानामा पर्ने बलान नदीमा आउने बाढीका कारण वर्षेनी डुबान र कटानको समस्या खेप्दै आएका तरेगना गोविन्दपुरका स्थानीय दुई हजार ५०० मिटर लामो बाँध बनेपछि उक्त समस्याबाट मुक्त भएका हुन् ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको नदी खोला नियन्त्रण व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्ला भूसंरक्षण कार्यालयको सहयोगमा नदी उकास जग्गा संरक्षण एवम् सदुपयोग उपभोक्ता समितिले बलान खोलामा माटो, चपरी तथा ढुङ्गा हालेर बाँध निर्माण निर्माण गरेका हुन् ।
बाँध निर्माणसँगै नदी कटान तथा डुबानबाट सुरक्षित भएको अनुभूति गर्दै स्थानीय किसान बलान नदीबाट उकास भएका जग्गामा धमाधम धान रोपाइँका साथै नर्सरी लगाउन थालेका छन् ।
नदीमा बाँध नहुँदा वर्षेनी बाढीले खेतीयोग्य जग्गा कटान गर्नुको साथै बाढी गाउँमै पस्ने जोखिम थियो । तरेगाना गोविन्दपुरका भोला राम भन्छन्– “पहिला पहिला वर्षायाम लाग्नासाथ कुन बेला बाढी आउँछ भन्ने चिन्ता हुन्थ्यो, तर बाँध बनेसँगै यो चिन्ता हटेको छ ।”
नदी उकास जग्गा संरक्षण एवम् सदुपयोग उपभोक्ता समितिका अध्यक्ष मोहम्मद सरिफ भन्छन्– “बाँध नबनुञ्जेल कटान भएको जग्गाप्रति कसैको चासो थिएन, अहिले जग्गा उकास भएपछि कतिपय जग्गाधनी आफ्नो जग्गा हो भन्दै खनजोत गरेर धान रोपाइँ गर्दैछन् भन्ने कतिपयमा घेरवार गरी वृक्षारोपणको गरेका छन् ।”
नदी उकासको जग्गाले जग्गा गुमेको मात्र होइन्, यस गाउँका विपन्न र दलित समुदाय समेत लाभान्वित भएका छन् । नदी उकासमा परेको कतिपय जग्गा आफ्नो हो भन्दै जग्गाधनीले खेतीपाती गर्ने गरेका छन् भन्ने खाली रहेको जग्गामा दलित, विपन्न परिवारले धान, गहुँ तथा तरकारी खेती गर्दै आएका छन् ।
वर्षेनी बलान नदीको बाढीले कटान र डुबानको समस्या भोग्दै आएको गोविन्दपुरवासीको पीडा देखेरै बाँध निर्माण गरिएको जिल्ला भूसंरक्षण कार्यालय लहानका प्रमुख सीताराम साह बताउँछन् ।
रासस
प्रकाशित मिति: १८ असार २०७३, शनिबार ११:००