काठमाडौँ, १८ असार ।
भूकम्पपछिको पुनःनिर्माणसँगै प्रभावित जिल्लामा सामाजिक उद्यमशीलतालाई महत्व दिएर कार्यक्रम अघि बढाइनुपर्नेमा जोड दिइएको छ ।
‘नेपाल निर्माणका लागि सामाजिक उद्यमशीलता’ विषयमा किङ्स कलेजले आयोजना गरेको दुई दिने सम्मेलनमा वक्ताले यस विषयमा जोड दिँदै भूकम्पपछिको पुनःनिर्माणसँगै सामाजिक उद्यमशीलताको मुद्दालाई पनि गाउँ गाउँमा स्थापित गरिनुपर्ने बताए ।
सम्मेलन बिहीबार र शुक्रबार राजधानीमा भएको थियो । सम्मेलनमा नेपाललगायत सात राष्ट्रका प्रतिनिधिको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा पूर्व अर्थसचिव रामेश्वर खनालले भूकम्पको क्षति कम गर्न सामाजिक उद्यमशीलताको कार्यक्रम गाउँ गाउँमा लैजानुपर्ने बताए ।
“भूकम्पले ३१ जिल्लामा घरबार र धन सम्पत्तिको क्षति पुगेको छ, त्यसको पूर्तिका लागि सामाजिक उद्यमशीलता प्रभावकारी माध्यम हुन सक्छ, यसले ओरालो लागेको अर्थतन्त्रलाई पनि माथि उठाउन सहयोग पु¥याउँछ”– उनले भने ।
कार्यक्रममा पर्यटन व्यवसायी कर्ण शाक्यले भूकम्पपछिको पुनःनिर्माणमा विहार र उत्तर प्रदेशका मानिसको बाहुल्यता हुनु र नेपाली बेरोजगार युवा खाडीमुलुकमा काम गर्न जानु दुःखद् भएको बताए ।
“साहसी पर्यटनका लागि नेपालमा धेरै अवसर छ, यसलाई व्यवहारमा उतारे कुनै पनि नेपाली रोजगारका लागि विदेशिनु पर्दैन, स्वदेशमै मालिक भएर बस्न सक्छन्”–उनले भने ।
कार्यक्रममा कलेजका प्रमुख नरोत्तम अर्याल, सोमप्रसाद पुडासैनी, स्वीडेनी लीना राउन फेल्दलगायतका वक्ताले भौतिक पुनःनिर्माणसँगै आयआर्जनलाई सहयोग पुग्ने गरी साना उद्योग व्यवसायको सीप सिकाएर प्रभावित जनतालाई स्वरोजगार बनाइनुपर्नेमा जोड दिए ।
रासस
प्रकाशित मिति: १८ असार २०७३, शनिबार १०:२५